जमुनिवासलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिने

  वास खबर सम्वाददाता  724 पटक हेरिएको

धनुषा : धनुषाको मिथिला नगरपालिका ८ स्थित जमुनिवास ३, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा क्षेत्रलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्ने भएको छ । नगरपालिकाबाट सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न अनुमति प्राप्त भएमा यही असोज ११ गते खानेपानी उपभोक्ता समितिको सेवा क्षेत्रलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्ने निर्णय गरिएको छ।

जमुनिवास ३, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २ सय ३० घरधुरीमा सुरक्षित खानेपानी वितरण गरिरहेको छ । बेला बखत खानेपानीको परिक्षण भैरहेको र हालसम्म कुनै पनि हानिकारक रासायनिक, जैविक तथा भौतिक प्रदुषण नभेटिएको समितिका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनुभयो।

२ सय ३० घरधुरी रहेको समुदायलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्ने प्रयोजनका लागि उपभोक्ता समितिले अनुगमन निरीक्षण गरी प्रमाणीकरण गरिदिन मिथिला नगरपालिका ढल्केबरलाई पत्राचार गरिसकेको छ । समितिले यही भदौ ३० गते नगरपालिकालाई सेवा क्षेत्रको अनुगमन गरी प्रमाणीकरण गरिदिन पत्राचार गरेको हो ।


सोमबार छायाँ नेपालका प्रतिनिधिहरु सहितको उपस्थितिमा बसेको उपभोक्ता समितिको बैठकले सुरक्षित खानेपानीयुक्त समुदायको पूर्वतयारी स्वरुप यही असोज ६ गतेका दिन खानेपानीका सम्पूर्ण उपभोक्ताहरुको घरदैलो गरी उपभोक्ताहरुलाई सरसल्लाह, सुझाव र परामर्श दिई सेवा क्षेत्र पूर्ण स्वच्छ, सफा र सुन्दर वातावरण निर्माण गर्न सरसफाइ अभियान चलाउने निर्णय समेत गरिएको छ ।

बैठकमा छा-याँ नेपालका व्यवहार परिवर्तन अधिकृत मंगल दुवालले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि आवश्यक सम्पूर्ण मापदण्ड पूरा भैसकेको र नगरपालिकाबाट अनुगमन गरी प्रमाणीकरण गर्न मात्र बाँकी रहेकाले तोकिएकै मितिमा घोषणा गर्न तदारुकता देखाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभयो।

बैठक सकेपछि खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु र छा-याँ नेपालका पदाधिकारीहरु सहितको टोलीले केही उपभोक्ताहरुको घरमा पुगी अनुगमन गरिएको थियो । टोलीले खानेपानीको धारा, खानेपानीको भण्डारण तथा उपयोग, खानाको स्वच्छता र शौचालयको अवस्था र प्रयोगको स्थितिबारे अनुगमन गरिएको थियो ।


अनुगमनका क्रममा देखिएको कमी कमजोरीलाई अनुगमन टोलीका सदस्यहरुले तत्काल सच्याउन सुझाव दिएका थिए ।

खानेपानीको वचत महिनाकै २० हजार

२०४५ सालमा एउटा इनारको पानी खनेर वितरण गर्न थालेको जमुनिवास ३, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हाल २ सय ३० घरमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । करिब सात महिना अघि मधेश प्रदेश सरकारको उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, मिथिला नगरपालिका ढल्केबर, युनिसेफ नेपाल र खानेपानी उपभोक्ताहरुको लगानीमा डिप बोरिङ गरेपछि पानी संकट समाधान भएको समितिकी सचिव हिम कुमारी खपाङ्गीले बताउनुभयो।


खानेपानी उपभोक्ता समितिको इनार सुकेपछि निजी इनारबाट घण्टाको ६५ रुपैयाँ तिरेर पम्पिङ गरेर पनि खानेपानी वितरण गरेको उहाँले बताउनुभयो। ‘घण्टाको ६५ रुपैयाँ इनार धनीलाई तिर्नुपर्थ्यो, विजुलीको ९/१० हजार रुपैयाँ जत्तिको बील आउँथ्यो’ उहाँले भन्नुभयो ‘३०/३५ हजार खानेपानीको महुसल उठ्थ्यो’ त्यत्तिबेला हामी घाटामा थियौं ।’


डिप बोरिङ गरेर खानेपानी वितरण गर्न थालेपछि अहिले सबै खर्च कटाएर करिब मासिक २० हजार रुपैयाँ बचत हुन थालेको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष ब्रह्मदेव महतोले बताउनुभयो। समितिले हाल ८ युनिट पानीको ९० रुपैयाँ खानेपानी महसुल उठाउँदै आएको छ । त्यसभन्दा बढी उपभोग गर्दा प्रति युनिट २० रुपैयाँ लाग्ने कोषाध्यक्ष महतोले बताउनुभयो।

युनिसेफ नेपाल र मिथिला नगरपालिकाको साझेदारीमा छायाँ नेपालले समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत जमुनिबासलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न लागेको हो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार