
झापा : झापाको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र मासिक ३० देखि ४० हजार रुपैयाँ घाटामा छ। दातृ निकाय एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण र मेचीनगर नगरपालिकाको १५ प्रतिशत गरी कुल ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ लागतमा निर्माण भएको मानव मलमूत्रीय प्रशोधन केन्द्रले सञ्चालन खर्च समेत उठाउन नसकेको हो ।

‘प्रशोधन केन्द्र सञ्चालन गर्न तीन जना कर्मचारी राखेका छौं, गाडीको इन्धन, गाडीको मर्मत सम्भार, पाइप मर्मत लगायत खर्च दिसाजन्य लेदो ढुवानीको आम्दानीले धान्न सकिरहेको छैन’काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजकुमार पराजुलीले भन्नुभयो। कर्मचारीको अपुग तलब भत्ता खानेपानीबाट हुने आम्दानीबाट बेहोर्दै आएका उहाँले बताउनुभयो।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
मासिक ४० हजार घाटामा रहेको प्रशोधन केन्द्रलाई नाफामा लैजान सकिन्छ र जनस्वास्थ्यको रक्षा एवं वातावरणीय संरक्षणमा टेवा पुर्याउन सकिने उहाँको विश्वास छ । संस्थाका अध्यक्ष राजकुमार पराजुली भन्नुहुन्छ ‘हामीलाई स्थानीय सरकारले मात्र साथ दिने हो भने हामी यसलाई नमुनाको रुपमा विकास गर्न तत्पर छौं ।’
यसका लागि नगरपालिकाले दिसाजन्य लेदोलाई प्रशोधन नगरी विसर्जन गर्न नहुने नीति बनाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने, प्रशोधन केन्द्रमा केही प्राविधिक समस्या समेत भएकाले उक्त समस्या तत्काल समाधान गर्नुपर्ने, १६ वटा ड्राइङ बेड मध्ये आधा जसोमा छानो हाल्नुपर्ने, जसका कारण बर्षातको समयमा पनि दिसाजन्य लेदोलाई सुकाउन सकिने बताउनुभयो ।

यस्तै नयाँ बन्ने संरचनामा नचुहिने/नरसाउने सेप्टिक ट्याङ्क निर्माण गर्नुपर्ने प्रावधानलाई भवन निर्माण संहितामा समावेश गर्नुपर्ने, निजी क्षेत्रको समेत प्रबर्द्वन हुने खालको नीति बनाउनुपर्ने र उत्पादित मलको गुणस्तर एकीन गरी बिक्री वितरण गर्न सहजीकरण गर्नुपर्ने उहाँको सुझाव छ ।
हात्ती छिर्यो, पुच्छर अड्कियो भने झैं सबैभन्दा ठूलो लगानीको संरचना नै निर्माण भएपछि स्थानीय सरकारले कानुनी व्यवस्थाको नियमन मात्र गरे पुग्छ । आफ्नो दायित्व भित्र पर्ने काम नगर्दा दिनानुदिन वातावरणीय प्रदुषण बढ्न गई मानवीय स्वास्थ्यमा असर पर्ने निश्चित छ । यसका साथै करोडौं ऋण लिएर बनाएको संरचना समेत उपयोग विहीन बनेको छ।



702 पटक हेरिएको 

