विकास साझेदारहरु सँग महानिर्देशक श्रेष्ठको अनुरोध : बाढी पहिरोले खानेपानीमा पुर्‍याएको क्षतिको मिलेर प्रतिकार्य गरौं

  वास खबर सम्वाददाता  427 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले यही असोज १२ गते शनिबारको बाढी र पहिरोले खानेपानी र सरसफाइमा पुर्‍याएको क्षतिको मिलेर प्रतिकार्य गर्न विकास साझेदार संस्थालाई अनुरोध गर्नुभएको छ । Towards Arsenic Safe Drinking Water in Nepal (NeAs Project) को फाइनल सेमिनारमा महानिर्देशक श्रेष्ठले भन्नुभयो ‘खानेपानी तथा सरसफाइ क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको मिलेर प्रतिकार्यमा जुटौं ।’

बाढी र पहिरोले खानेपानी र सरसफाइ योजनाहरुमा पुर्‍याएको क्षतिको विवरण संकलन भैरहेको र देशैभरिका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुबाट क्षतिको विवरण संकलन भएपछि सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो।


कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख एवं परियोजना संयोजक सिडिई पूर्ण प्रसाद उपाध्यायले परासी जिल्लाको ७ वटा पालिकाका ९४ वटा डिप ट्युवेल, २९ वटा स्यालो ट्युवेल र ९ वटा सतहको स्रोतको पानीमा देखिएको आर्सेनिकको परिणाम सार्वजनिक गर्नुभयो।

Towards Arsenic Safe Drinking Water in Nepal (NeAs Project) फिनल्याण्ड सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको पाइलट प्रोजेक्ट हो । यो परियोजना सन् २०२० देखि परासी जिल्लाको सात वटा पालिकामा सञ्चालित छ ।


यस्ता परियोजना सरकार र सरकारबीचको साझेदारीमा सञ्चालन हुने र सानो प्रकृतिको परियोजना भए पनि गुणात्मक महत्व राख्ने फिनल्याण्ड दुतावासका पल्लव राज नेपालले बताउनुभयो। ‘यो सानो स्केलको परियोजना हो। अनुसन्धानात्मक तहको यो परियोजनाले आवश्यकता पहिचान गर्न सघाउ पुर्‍याउँछ र आगामी दिनमा थप वृहत लगानीका लागि मार्ग प्रसस्त गर्छ’ उहाँले भन्नुभयो।


कार्यक्रममा खानेपानी र सरसफाइ विज्ञ, खानेपानी गुणस्तर क्षेत्रका परामर्शदाता, जिओलोजिष्ट, हाईड्रोजिष्ट, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राम चन्द्र काफ्ले, बिभाग अन्तर्गतका विभिन्न खानेपानी तथा आयोजना कार्यालयका आयोजना निर्देशकहरु, खानेपानी र सरसफाइ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

सहभागीहरुले दिएको सुझावलाई समेटेर प्रतिवेदन तयार पारिने परियोजना संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख उपाध्यायले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रमका थप फोटाहरु : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार