नेवाको सामाजिक परीक्षण तथा बार्षिक साधारण सभा सम्पन्न

  वास खबर सम्वाददाता  213 पटक हेरिएको


काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रको विगत ३२ बर्षदेखि कार्यरत संस्था नेपाल स्वास्थ्यका लागि (नेवा) ले सामाजिक परीक्षण तथा ३२औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८०/२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र सामाजिक परीक्षणवाट प्राप्त नतिजाहरुलाई सरोकारवाला निकायहरुको प्रतिनिधित्वमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेवाका निर्देशक ई. रेशम जंग सिंहले कार्यक्रमको उद्देश्य, नेवाको परिचय, आ.व. २०८०/२०८१ को संक्षिप्त प्रगति र आय व्यय विवरणका साथै नेवाको ३२ वर्षको अनवरत यात्रामा प्राप्त गरेको उपलव्धीहरु बारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

नेवाले सरकारले लिएको विकास लक्ष्यलाई आत्मसात गर्दै समय सापेक्ष नेवाको नीति तथा कार्यक्रमलाई परिस्कृत गर्दै लगेको बारेमा समेत उहाँले प्रस्ट पार्नुभयो ।

कार्यक्रममा सामाजिक परीक्षक डा. किरण चालिसेले नेवाको गत आर्थिक बर्षको प्रगति प्रस्तुत गर्दै नेवाको विश्लेषणात्मक परिचयले नेवाको रणनैतिक योजना, संस्थाको सिद्धान्त र मूल्य मान्यता, स्रोत व्यवस्थापन एवं सम्वन्धित सरोकारवालासँगको प्रत्यक्ष सम्पर्क र संजाल निर्माणमा देखाएको अग्रसरताले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा नेवाले अग्रणी भूमिका निर्वाह गरेको विषय प्रस्तुतीकरण गर्नुभयो।

साथै उहाँले सामाजिक परीक्षणको विधि, आयोजनाहरुको स्थलगत अवलोकनबाट प्राप्त नतिजाहरु एवं संस्थागत सुशासन, कार्यक्रम योजना तथा कार्यान्वयन, वित्तीय व्यवस्थापन, सम्वन्ध व्यवस्थापन माथि प्रकाश पार्दै नेवाको कार्यक्रमका सवल पक्ष, सिकाई एवं सुधार गर्नुपर्ने पक्षका साथै नेवाले आगामी दिनमा चाल्नुपर्ने कार्यान्वयन तहका रणनीतिहरु माथि प्रस्तुतीकरण गर्नुभयो।

नेवाका निर्देशक ई. रेशम जंग सिंहले दुवै प्रस्तुती पश्चात उठेका जिज्ञासा माथि स्पस्ट पार्दै नेवाले भविष्यमा गर्नुपर्ने सुधारहरुका बिषयमा सहभागीहरुबाट प्राप्त सुझावहरुका लागि धन्यबाद व्यक्त गर्नुभयो।

अतिथिद्वारा नेवाको कार्यशैलीको प्रशंसा

कार्यक्रममा फेडवासन अध्यक्ष राजेन्द्र अर्यालले नेवाले निर्माण गरेका गुणस्तरीय संरचना एवं सरसफाइ तथा स्वच्छता कार्यमा पुर्याएको योगदान र लामो समय सम्म संचालन भएका योजनाहरु निर्माणका लागि प्रशंसा गर्नुभयो। साथै खासस्व क्षेत्रमा पुरयाएको योगदानहरुलाई फर्केर हेर्दा कार्यक्रम मार्फत प्राप्त सिकाई उपलव्धीलाई पालना गर्दै भविष्यमा संचालन गरिने आयोजनाहरुमा लागु गर्दा अझै सबल र दिगोपनालाई टेवा पुर्याउन सकिने सुझाव प्रदान गर्नु भयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयको तर्फबाट सिडीई बीरेन्द्र कंडेलले नेवाले पारदर्शिता एवं उत्तरदायित्वलाई उजागर गर्नलाई सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिनु आफैमा सकारात्मक भएको भन्दै सरकारको लक्ष्य प्राप्ति गर्न बहु सरोकारवालाहरुको सहभागितालाई जोड दिदै आयोजनाको अपनत्व र दिगोपनाको लागि समुदायको अर्थपूर्ण सहभागितालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले ६२ आयोजना निर्माण गरी गाउँपालिकाका हजारौ नागरिकलाई पुर्याएको योगदान अतुलनीय भएको, नेवाको संचालन भएको वर्ष दिन भित्र आयोजना सम्पन्न गर्ने कार्य शैलीलाई सरकारी निकायले समेत अनुकरण गर्नुपर्ने बताउदै नेवाले खानेपानी आयोजना निर्माण सँगै महिला नेतृत्वको सवाल, बाल संरक्षण नीतिलाई अङ्गीकार गर्दै उपभोक्ताहरुको अर्थपूर्ण सहभागिता एवं जनश्रमदानले आयोजना प्रति अपनत्व एवं उत्तरदायी बनाउन भूमिका खेलेको बताउनुभयो।

मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्जुवाले नेवाको कार्यशैली अनुकरणीय रहेको प्रस्ट पार्दै विवादहरुलाई सुल्झाउदै अति आवश्यक समुदायको लागि पानी उपलव्ध गराउन खेलेको भूमिकाको प्रसंशा गर्नु भयो । साथै तिनपाटन गाउँपलिका अध्यक्ष कर्ण बहादुर थापा मगरले समेत नेवाका कर्मचारीले देखाएको अनुशासन, काम प्रतिको लगनशीलता एवं प्रतिवद्धताले समुदायलाई जनश्रमदान गर्न विस्वस्त पार्न सकेको स्मरण गर्दै नेवाको सहयोगमा संचालन हुने आयोजनामा योगदान गर्न समुदाय मानसिक रुपले तयार हुने स्थितिले पनि नेवाको कार्य कौशलतालाई उजागर गरेको एवं आयोजनाहरुको संचालनले पानीजन्य रोगहरुमा कमी आउनुमा नेवाले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले नेवाले सिन्धुली जिल्लाका धेरै स्थानका समुदायलाई स्वच्छ पानीको पहुँचका लागि गरेको योगदानको कदर गर्दै अझै केही वर्ष नेवाले सिन्धुलीमा कार्य गरेको खण्डमा धेरै समुदायहरुले आफ्नै घर आँगनमा पानीको पहुँच सुनिस्चित गर्न सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्टले खानेपानी, सरसफाई एवं स्वच्छता क्षेत्रमा देखापरेको स्रोतको सिमितता एवं चुनौतीका वावजुद नेवाले उक्त क्षेत्रमा गरेको योगदान सराहनीय भएको बताउदै दिगो विकास लक्ष्यका सूचकहरु एवं सोह्रौ आवधिक योजनाको लक्ष्य पुरा गर्न आर्थिक सहयोगमा देखा परेको कमी एवं खाडल निकै चुनौतीपूर्ण भएको विषयमा जोड दिनुभयो ।

उहाँले अन्तराष्ट्रिय र राष्ट्रिय गैह्र सरकारी संस्थाहरुले सेवा नपुगेका जनसंख्याहरुलाई सेवा उपलव्ध गराउन, देशको समग्र विकास योगदान पुर्याउन, सुसाशन एवं पारदर्शिता स्थापित गर्न, विकास कार्यलाई जोड्न एवं कोही पनि नछुटुन भन्ने ध्येय साथ अघि बढ्नुपर्ने विषयमा जोड दिदै नेपाल नीति तथा कार्यक्रममा धनी भए पनि स्रोत कमीको कारणले दिगो विकास लक्ष्यका सूचकहरु पुरा गर्न निकै चुनौती भएको विषयमा प्रस्ट पार्नुभयो ।

यद्यपि गैह्र सरकारी संस्थाहरुहरुको दिगोपना आफैमा चुनौतीपूर्ण भएपनि आयोजनाहरुको निर्दिष्ट कार्यक्रम नतिजा (Output) एवं Outcomes प्राप्तिका लागि राम्रो कार्य गर्ने संस्थाहरुले नयाँ अवसर पाउने विषयमा प्रस्ट पार्नुभयो।

कार्यक्रममा वाटर एड नेपाल, स्मार्ट वास सोलुशन, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, फिनल्याण्ड दुताबासका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । साथै नेवाको कार्यकारी समिति पदाधिकारी एवं साधारण सदस्यहरु एवं नेवाका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष मन्जुरी सिंहले नेवाको उपलब्धीको लागि योगदान गर्नुहुने सम्पूर्ण कर्मचारीहरु लगायत कार्यकारी समितिका सदस्यहरुका साथै नेवाको सफलताको लागि प्रत्यक्ष अप्रत्यक्ष ढंगले सहयोग उपलव्ध गराउने च्यारिटी वाटर, स्थानीय, प्रदेश एवं संघीय सरकार, समाज कल्याण परिषद, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, उपभोक्ताहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार