सङक्रामक रोग फैलिन नदिन स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालय बीच सहकार्य हुने

रोग नियन्त्रणका लागि समिति गठन

  वास खबर सम्वाददाता  94 पटक हेरिएको

काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो जस्ता विपद पछि सङक्रामक रोग फैलन नदिन खानेपानी मन्त्रालयसँग सहकार्य गर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवसहितको बैठकले बाढीपहिरोपछि महामारीजन्य सरुवा रोग फैलन सक्ने सम्भावनालाई ध्यानमा राखी सहकार्य गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरुवारोगजन्य महामारी खानेपानीका कारणले फैलन सक्ने भएकाले त्यसलाई रोक्न खानेपानी मन्त्रालयका पदाधिकारीसहितको बैठक बसेको बताउनुभयो ।

बैठकले स्वास्थ्य मन्त्रालयको आपत्कालीन स्वास्थ्य सेवा प्रमुख तथा प्रवक्ता डा. प्रकाश बुढाथोकीको संयोजकत्वमा बाढीपहिरोपछि फैलन सक्ने रोग नियन्त्रणका लागि समिति गठन गरेको छ । समितिमा खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठ, अनुराधा अधिकारी र प्रभात श्रेष्ठ सदस्य हुनुहुन्छ । यस्तै स्वास्थ्य मन्त्रालयबाट डा. सागर दाहाल, व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसिया सदस्य हुनुहुन्छ ।

समितिले खानेपानी वितरण, खानेपानी सम्बन्धी जनचेतना, प्रकोप पछि आउन सक्ने महामारी सम्बन्धी काम गर्ने छ । महामारीपछि आउन सक्ने सम्भावित रोगबारे मोबाइलमा रिङटोन राख्ने, रोग लाग्नै नदिनका लागि गर्नुपर्ने उपायबारे सम्बन्धित मन्त्रालयलाई सुझाव दिने छ ।

स्वास्थ्यमन्त्री पौडेलले बाढीपहिरोपछि पानीका स्रोत प्रदूषित हुने भएका कारण झाडापखाला, हैजालगायतका सङक्रामक रोग लाग्न नदिन तयारी बढाउनुपर्ने बताउनुभयो । उहाँले खानेपानीको शुद्धता बढाउन र कुनै पनि सङक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारसँग मिलेर काम गर्ने  प्रतिबद्धता जनाउनुभयो ।

खानेपानीमन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताउनुभयो । बैठकमा बाढीपहिरोबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकी प्रदेशका स्वास्थ्य सचिवले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । बैठकमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदूषित भएकाले ट्याङ्करबाट किनेरै क्लोरिनेसन गरेर पानी वितरण गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार