बाढी प्रभावित ३ सय १० परिवारलाई प्लान इन्टरनेशनलद्वारा राहत सामाग्री सहयोग

  वास खबर सम्वाददाता  393 पटक हेरिएको

सिन्धुली : गत असोज ११ र १२ गते अविरल वर्षाले सुनकोशी र रोशी खोलामा आएको बाढीको कारण प्रभावित परिवारलाई पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको छ । सुनकोशी र रोशी खोलामा आएको बाढीका कारण पीडित भएकाहरुलाई राहत वितरण गर्न सुरु गरिएको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा राहत वितरण गरिएको राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणी फुयाँलले बताउनुभयो । पालिकास्तरीय विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन समिति कार्यदल र नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको विवरण अनुसार सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ३१० परिवारलाई खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गरिएको हो ।

गोलन्जोर गाउँपालिका अन्तर्गत खुर्कोटका ६४ परिवार र बलेनी, मुर्किवेशीका ३२ गरी जम्मा ९६ परिवार लाई खाद्य तथा गैह्र खाद्य राहत वितरण गरिएको हो । त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका ११ घर परिवार र सुनकोशी गाउँपालिकामा वडा नं. १ मा ६८, वडा नं. २ मा १४, वडा नं. ३ मा १४, वडा नं. ४ मा १९, वडा नं. ५ मा ७४ र वडा नं. ६ मा १३ गरी जम्मा २०३ घर परिवारलाई राहत वितरण गरिएको  स्थानीय साझेदार संस्था ह्याण्ड्स नेपालका कार्यक्रम व्यवस्थापक रोहित ढकालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली र जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा एकद्वार प्रणाली मार्फत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा राहत सामाग्री वितरण भइरहेको ।

प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्था मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल र जनजाती विकास समाज कार्यक्रमले सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गरी जम्मा ३१० घर परिवारमा खाद्य र गैरखाद्य सामग्रीहरु वितरण गरेको हो।

गैर खाद्य सामाग्री राहत प्याकेजमा त्रिपाल २, कम्वल २, पि–फम २, सौर्य वत्ति १, डोरी ५ रोल गरी रु ८८६९ र भान्सा सामाग्री (खाद्य) प्याकेजमा सिल्भर डेक्ची (सानो, ठुलो) ३, थाल ३, कचौरा २, गिलास २, डाढु १ र पुन्यु १ गरी रु १७६८ रकम गरी प्रत्यक घर परिवारलाई जम्मा रु १०६३४ बराबरको सामाग्री सहयोग गरेको छ । वितरण कार्य जारी रहेको साझेदार संस्थाहरूले जनाएका छन् ।

यसैगरी वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रिलिफ नेपालको सहयोगमा अन्य खाद्य र गैर खाद्य सामग्री वितरण गरीएको छ । राहत वितरणमा स्थानीय पालिका प्रतिनिधि, प्रहरी प्रतिनिधि, राहत सहयोग गर्ने दाताहरु, पत्रकार लगायतको उपस्थिति रहने रिलिफ नेपालले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार