वीरगन्जमा सरसफाइकर्मीमाथि कुटपिट, कुटपिट गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

  वास खबर सम्वाददाता  297 पटक हेरिएको

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका एक जना सरसफाइकर्मीमाथि शनिबार कुटपिट भएको छ। महानगरपालिकाको वडा नम्बर १५ भिस्वामा फोहोर संकलनका लागि गएका २२ वर्षीय सरसफाइकर्मी राजेश मल्लिक माथि कुटपिट भएको हो ।

मल्लिकका अनुसार शनिबार भिस्वा टोलमा ठेला लिएर फोहोर संकलन गर्ने क्रममा निरजल गिरी फोहोर लिएर आएका थिए । ‘उनले फोहोरको भाँडा मैले बोकेको बेल्चामै टकटकाएर झार्न थाले,’ मल्लिकले भन्नुभयो ‘बेल्चा हामीले हातले समाउँछौं, त्यही हातले सिट्टी समाएर फुक्छौं, मुखमा फोहोर जान्छ भनेर मैले ठेलामै फोहोर फाल्नुस भन्दा विवाद भएको हो ।’

त्यसपछि स्थानीय निरजल गिरी र उनका दुई जना छोराले फोहोर उठाउने बेल्चाले कुटेको मल्लिकले बताउनुभयो । बेल्चा प्रहारले मल्लिकको बायाँ हात, पिठ्युँ र घाँटीमा चोट लागेको छ । सरसफाइकर्मीमाथि कुटपिट गर्ने गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताउनुभयो।

सहरलाई सफा राख्न अहोरात्र खट्ने सरसफाइकर्मीमाथि कुटपिट गर्नेलाई कानुन बमोजिम कारबाही गरिने वीरगन्जका मेयर राजेशमान सिंहले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार