ब्यासले फोहोरलाई मोहोर बनाउँदै, बार्षिक २ लाख भन्दा आम्दानी

  वास खबर सम्वाददाता  153 पटक हेरिएको

तनहुँ : जिल्लाको व्यास नगरपालिकाले फोहरजन्य बस्तु बिक्री गरी दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो ।

नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न बस्तु बिक्री गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताउनुभयो। ‘पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कपी किताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरिएको हो,’ उहाँले भन्नुभयो।

यस्तै, करिब एक लाख रुपैयाँ बराबरको फोहर बिक्रीका लागि तयारी अवस्थामा रहेको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताउनुभयो । ‘एलडी, एचएम, पीपी, गुडिया लगायत सामान बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ,’ उहाँले भन्नुभयो ‘यी सामग्रीहरू पनि तिहारअगावै बिक्री गर्ने योजना छ ।’

नगरपालिकाले गत भदौ ८ गतेदेखि फोहरको सूक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरी भदौबाट सिसा बिक्री गर्न थालिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार नगरपालिकाले २ हजार ४ सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट ५६ हजार ५ सय ६८, १ सय ३ किलो आल्मुनियमबाट ६ हजार १ सय ८०, ५ सय ६२ किलो टिनबाट १४ हजार ६२, १ सय ७९ किलो फलामबाट ६ हजार २ सय ६५, ३ सय २६ किलो कपीबाट ५ हजार २ सय १६, ५ सय ६० किलो किताबबाट ७ हजार ८ सय ४०, ३ हजार २ सय १० किलो गत्ताबाट ३५ हजार ३ सय १०, १ सय ६५ टुक्रा कागजबाट १ हजार ३ सय २० र सिसाबाट ८४ हजार ६ सय ७७ रुपैयाँ आम्दानी गरेको छ ।

बजार क्षेत्रबाट निस्कने फोहरमैला व्यवस्थापनमा चुनौती भएकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेको थियो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख घिमिरेले बताउनुभयो । ‘नकुहिने फोहर नगरपालिका प्रांगणमै संकलन गरी वर्गीकरण गरिन्छ, कुहिने फोहर दुम्सीस्थित गौ–संरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्ने काम गरिरहेका छौं’ उहाँले भन्नुभयो।

नगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्टैरछुट्टै गाडीमा संकलन गर्ने गर्छ । नगरपालिकाले वडा नं. १, २, ३, ४ र ५ बाट दैनिक रूपमा १२ देखि १५ टन फोहर संकलन गर्दै आईरहेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार