जमुनिबासको २३० घरपरिवार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

  वास खबर सम्वाददाता  88 पटक हेरिएको

धनुषा : धनुषाको मिथिला नगरपालिका – ८ स्थित जमुनिबासलाई ‘सुरक्षित पानी स्वस्थ जिन्दगानी’ भन्ने नाराका साथ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। जमुनिवास ३ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा खानेपानी उपभोग गर्दै आएका २३० घरपरिवारलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

जनमुनिवासका समुदायले सबै प्रक्रिया तथा मापदण्ड पूरा गरेपछि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, उपमेयर सुनिता सिंह बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारी सहितको उपस्थितिमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छायाँ नेपालका व्यवहार परिवर्तन अधिकृत मंगल दुवालले जानकारी गराउनुभयो।

जनमुनिवासलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न मिथिला नगरपालिकाको नेतृत्व र युनिसेफ नेपालको आर्थिक सहयोगमा छाँया नेपालले समुदायमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मिथिला नगरपालिका धनुषाका मेयर महेन्द्र महतोले २३० घरपरिवारका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न खेलेको भूमिका प्रति सरोकारवाला सबैलाई धन्यबाद दिदै भविश्यमा पनि सुरक्षित खानेपानी युक्त समुदाय कायम राख्न निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

कार्यक्रममा मिथिला नगरपालिका धनुषाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले सुरक्षित खानेपानीयुक्त समुदायको निरन्तरता सबैको इज्जत र प्रतिष्ठासँग जोडिएको बिषय भएकाले यसलाई निरन्तर कायम राख्न आग्रह गर्नुभयो।

सोही कार्यक्रममा जमुनिबास समुदायले खानेपानी र सरसफाइ सँग सम्बन्धित ११ बुँदे प्रतिबद्धता समेत जनाएका छन्। फोहोर नै नगर्ने सभ्य नागरिक बन्ने, खुला दिसा गरेमा ५ सय रुपैयाँ जरिवाना तिर्ने, चक्लेट, चाउचाउ, विस्कुटका खोलहरु, प्लाष्टिक र कागजका फोहोर फाल्ने ठाउँमा मात्र फाल्ने, खाना खानु, खुवाउनु र खाना तयार गर्नु अगाडि दिसा धोएपछि र फोहोर छोएपछि, घर बाहिर गएर आए पछि सधैं साबुन पानीले मात्र हात धुने लगायत प्रतिबद्धता पत्रमा उल्लेख छ।

नेपालको संविधान २०७२ को धारा ३० उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने, धारा ३५ उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने उल्लेख छ । यस्तै संयुक्त राष्ट्रसंघले पारित गरेको दिगो विकास लक्ष्यहरु अन्तर्गत सुरक्षित खानेपानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्न नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा मिथिला नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतका साथै वडाध्यक्ष बीरेन्द्र महतो, युनिसेफ नेपालका वोध नारायण श्रेष्ठ, छायाँ नेपालका व्यवहार परिवर्तन अधिकृत मंगल दुवाल तथा इन्जिनियर आशिष सिंह सहित करिब १ सय ५० जना भन्दा बढीको सहभागिता थियो।

घोषणा कार्यक्रम मिथिला नगरपालिका ढल्केबरका मेयर महेन्द्र महतोको प्रमुख आथित्य, उपमेयर सुनिता सिंह बुढाथोकीको विशेष आतिथ्य र जमुनिवास ३ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार