वाटर फोरम नेपालको शुभारम्भ, दिगो जलस्रोत व्यवस्थापनका लागि प्रविधि र नव प्रबर्तनमा जोड दिईने

  वास खबर सम्बाददाता  217 पटक हेरिएको


काठमाडौ : वाटर फोरम नेपाल (WAFON) को शुभारम्भ भएको छ । पूर्व अर्थसचिव एवं सरसफाइविज्ञ सुमन प्रसाद शर्माको अध्यक्षतामा स्थापना भएको वाटर फोरम नेपाल (वाफोन) को विधिवत रुपमा शुभारम्भ भएको घोषणा गरिएको हो ।

वाटर फोरम नेपाल (वाफोन) ले इन्टरनेशनल वाटर एसोसिएसन (IWA) को नेपाल च्याप्टरको रुपमा कार्य गर्नेछ । WAFON कम्पनी ऐन २०६३ अन्तर्गत गैर नाफामूलक कम्पनीको रूपमा दर्ता भएको छ।

पूर्वमन्त्रीहरु गणेश साह र दिपक ज्ञवाली तथा पूर्व खानेपानी सचिव माधव बेल्बासे वाफोनका सल्लाहकार हुनुहुन्छ । वाफोनका अध्यक्ष सुमन प्रसाद शर्माले वाफोन स्थापना गरी शुभारम्भ भएको जानकारी गराउन पाउँदा खुशी व्यक्त गर्दै वाफोनमा शिक्षाविद्, विद्यार्थी, व्यवसायी, उपभोक्ता, उद्योगी र व्यवसायीलाई एकै ठाउँमा गोलबद्ध गराई जलस्रोत व्यवस्थापनमा वैज्ञानिक ज्ञान विकास, अत्याधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय ज्ञानलाई बढावा दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वाफोनले दिगो जलस्रोत र सरसफाइ व्यवस्थापनमा योगदान पुर्‍याउने बताउनुभयो ।


WAFON, IWA नेपाल, र IWA Young Water Professionals Nepal को सहयोगमा आयोजना गरिएको ‘वाफोन नेपालको शुभारम्भ एवं नेपालमा पानीको उज्यालो भविश्य’ बिषयक सम्बाद कार्यक्रममा पूर्वमन्त्री एवं वाफोनका सल्लाहकार डा. गणेश शाहले पानी खाद्य सुरक्षा, उर्जा सुरक्षा सँग सम्बन्धित भएकाले पानीको विज्ञान र त्यसमा प्रयोग हुने प्रविधि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पानीलाई एउटा बेसिनबाट अर्को बेसिनमा लैजाँदा हुन सक्ने द्धन्द्ध निरुपणका लागि नियमन क्षेत्रमा खासै काम नभएको भन्दै भविश्यमा आउन सक्ने समस्यालाई अहिले नै नीतिगत पहल थाल्नुपर्ने बताउनुभयो। डा. साहले नेपालको पानी बंगलादेश, भारत लगायत राष्ट्रको समेत भएकाले नेपाल सरकारले पानी कुटनीतिका बिषयमा समेत सम्वाद थाल्न जरुरी रहेको बताउनुभयो।


यस्तै पूर्व खानेपानी सचिव एवं वाफोनका सल्लाहकार माधव बेल्बासेले नेपालमा जलवायु परिवर्तनका कारण पछिल्ला दिनहरुमा ठूलो विपदको सामना गर्नु परेको उल्लेख गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपनाउनु पर्ने उपायहरुको खोजी गर्न, अध्ययन अनुसन्धान गर्न र ज्ञान व्यवस्थापन गर्न वाफोनले कार्य गर्नुपर्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले खानेपानी र सरसफाइ क्षेत्रमा भोगिरहनु परेका इस्यूहरुलाई उठाउन पनि वाफोनले साझा मन्चको रुपमा काम गर्न सक्नुपर्ने शुभेच्छा व्यक्त गर्नुभयो।


कार्यक्रममा वाफोनका कार्यकारी सदस्य डा.डोल प्रसाद चापागाईले जलवायु परिवर्तन र पानीसुरक्षाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै वाफोनका सल्लाहकार एवं पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले जलवायु परिवर्तनमा समुदायको भूमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा प्रस्तुतीकरण गर्नुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार