सुनकोशीको बाढीले लिफ्ट खानेपानीको सम्पवेल बगाएपछि पुरानै समस्या बल्झियो

  वास खबर सम्बाददाता  146 पटक हेरिएको

सिन्धुलीमाढी : फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ ।

‘उक्त योजना बनेपछि खानेपानीको लागि निकै ढुक्क थियो, अहिले फेरि पुरानै घाउ बल्झिएको छ’ उहाँले भन्नुभयो, ‘अहिले खानेपानीका लागि खोल्साखोल्सी चहार्दै हिड्नु परेको छ । खानेपानीको दुःख सम्झेर त्यतिबेला हामीले जनश्रमदान समेत जुटाएर खानेपानीको योजना पूरागरी सुनकोसीको पानी पाँचसय मिटरमाथि डाँडामा लिफ्ट गरेर ल्याएर खाएका थियौं ।’

असोज १०, ११ र १२ गतेको अबिरल बर्षापछि सुनकोसी नदीमा आएको बाढीले उक्त योजनाको ईनार र मोटर पुर्नुका साथै बिजुलीको पावर हाउसमा समेत क्षति गरेको वडा अध्यक्ष शंकर भण्डारीले जानकारी दिनुभयो । सो खानेपानी योजनामा बाढीले क्षति गरेसँगै चण्डिभञ्ज्याङ, डडुवा, बबला र गैरीगाँउका झण्डै ८५ घर परिवारमा खानेपानी समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार गाउँपालिकाको झण्डै ७० लाख रुपियाँ लगानीमा सो लिफ्ट खानेपानी योजना आर्थिक बर्ष २०७५–७६ देखि निर्माण सुरु गरी तीन बर्ष लगाएर सम्पन्न गरिएको थियो । उक्त वडामा मात्र बाढीपहिरोले १५ वटाभन्दा बढी खानेपानी योजनामा क्षति गरेको छ ।

बाढीपहिरोले मुहान, पाइपलाईन बगाएर लथालिङ्ग पारेको, कतै ईन्टकलगायतका संरचना क्षति पुगाएको वडा अध्यक्ष भण्डारीले सुनाउनुभयो । बाढीपहिरोबाट सिन्धुली जिल्लामा सुनकोसी, गोलन्जोर, फिक्कल र हरिहरपुरगढी गाउँपालिका बाढी प्रभावित भएको र ५० वटाभन्दा बढी खानेपानीका योजना क्षति भएको छ ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराल सो पालिकामा बाढीपहिरोले सार्बजनिक र नीजि गरी ३७ वटा खानेपानी योजनामा क्षति गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सुनकोसी नदीमा आएको बाढीले खुर्कोट, हैबार, बलेनी, कुखुरेटारमा सबैभन्दा बढी खानेपानी योजना क्षति गरेको छ । सबै योजना सुनकोसी नदीमा ईनार खनेर लिफ्ट गरी घर–घरमा पुगाएर खानेपानीको व्यवस्था गरिएको थियो ।’

बाढी पहिरोबाट क्षति भएका खानेपानी योजनामध्ये पालिकाको प्राविधिक सहयोगमा खुर्कोट र हैबारमा रेडक्रसले मर्मत सुरु गरेको उहाँले जानकारी दिनुभयो । बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानीलगायतका भौतिक संरचना पुननिर्माण तथा मर्मतका लागि पालिकासँग पर्याप्त बजेट नभएकाले सङ्घीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकाय पर्खनुको बिकल्प नभएको उहाँको गुनासो छ ।

त्यस्तै, फिक्कल गाउँपालिकाले पनि बाढी पहिरोले पलिकाभित्र विभिन्न ठाउँमा गरी दुई दर्जनभन्दा बढी खानेपानी योजना क्षति गरेको जनाएको छ । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ। गाउँपालिका अध्यक्ष पार्बती सुनुवार योजनामा क्षति गरेको ठाउँमा अहिले खानेपानीको एकदमै समस्या देखिएको र वडा ६ को सोखुबेसीमा बनाउँदै गरेको योजना सुनकोसीको बाढीले बगाएको बताउनुहुन्छ ।

‘बाढीपहिरोले खानेपानी योजनाको मुहान, ईनार, लिफ्ट खानेपानीको मोटर, ईन्टेक, पाईपलाइन लगायतका संरचना बगाएको छ’ उहाँले भन्नुभयो, ‘सबै ठाउँमा खानेपानी सुचारु गर्न तत्काल पालिकाले केही गर्न सक्ने अवस्था छैन ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार