नेपालगञ्ज : सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् ।तिहार नजिकिंदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री वितरण भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘गत वर्ष स्थानीय प्रशासनले प्लाष्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन् ।’
प्लाष्टिकजन्य माला बेच्न हुँदैन भन्ने विषयमा आफूलाई जानकारी रहेको उल्लेख गर्दै लखेटले केही उपभोक्ताले लुगाका माला पनि प्रयोगमा ल्याएको बताउनुभयो। लुगाको माला निश्चित समयपछि कुहिने र यसले वातावरणमा खासै हानी नगर्ने भएकाले प्लाष्टिकको मालाको सट्टा कपडाजन्य माला प्रयोगमा आईरहेको उहाँले बताउनुभयो।
अर्का स्थानीय व्यवसायी अकबर अलीले स्थानीय सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको प्रयोगमा रोक लगाएपछि मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छाको सामान्य बेचबिखन भएको बताउनुभयो। मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका लागि राखिएको जानकारी दिंदै उहाँले तिहारका लागि भाइ मसलाको खपत बढेको बताउनुभयो । ‘हामीले कोहलपुरबाट उत्पादन भएको भाइ मसला नेपालगञ्ज ल्याएर बेचेका छौं’, उहाँले भन्नुभयो।
बागीश्वरी मन्दिर छेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझी लगायत स्थानमा कपडाले बनेका रङ्गीविरङ्गी मालाले झकिझकाउ देखिएको छ । उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको गुनासो गर्नुभयो।
उहाँले निर्वाध रूपमा व्यवसायीले आफ्नो व्यापार गर्न पाउनुपर्ने जिकिर गर्नुभयो । नेपालगञ्जमा तिहारकै अवसरमा ८० हजारदेखि एक लाख रुपैयाँ बढीको माला बेचबिखन हुने गरेको स्थानीय व्यवसायीको भनाइ छ ।
बाँकेको कोहलपुर नगरपालिका लगायतले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाउँदै स्थानीय किसानले उत्पादन गरेका फूलका माला र फूल तिहार लगायत पर्वमा उपभोग गर्न आग्रह गरेको थियो ।