वीरगन्ज : खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज कारागारमा रहेका महिला कैदीहरूको लागि शौचालय, बसोबास र खानेपानीको व्यवस्थापन प्राथमिकताका साथ गर्ने बताउनु भएको छ । उहाँले यसका लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी शीघ्र सुधारको कदम चाल्ने बताउनुभयो । मन्त्री यादवले वीरगन्ज कारागारको स्थलगत निरीक्षणका क्रममा कैदीबन्दीहरूले कारागारमा खानेपानी र शौचालयको अभाव रहेको, विद्युत् आपूर्तिमा समस्या रहेको र महिला कैदीबन्दीहरू जीर्ण भवनमै बस्नुपर्ने बाध्यता रहेको सुनाएका थिए।
महिला कैदीहरूले आफ्नो बसोबास स्थान असुरक्षित र अस्वस्थकर रहेको गुनासो गर्दै स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधाहरूमा सुधार गर्न आग्रह गरेपछि मन्त्री यादवले महिला कैदीहरूको सुविधामा विशेष ध्यान दिई कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन समेत दिनुभयो।
आज बिहानै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसँगै कारागारको अनुगमन गर्न पुगेका मन्त्री यादवले कैदीबन्दीहरूसँग कारागारमा कैदीबन्दीहरूले भोगिरहेका कठिनाइबारे सम्वाद गर्नुभयो। मन्त्री यादवसँगै निरीक्षणमा रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कारागार सुधारमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘महानगरपालिकाले महिला कैदीहरूको स्वास्थ्य, सरसफाइ र अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न तत्पर छ। महिला कैदीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिन स्थानीय तहले राज्यका अन्य निकायहरूसँग सहकार्य गर्नेछ’ उहाँले भन्नुभयो।
मेयर सिंहले विशेष गरी महिला कैदीहरू बस्दै आएको जीर्ण भवनको अवस्थालाई सुधार गर्न महानगरको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनानुभयो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पनि कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै भन्नुभयो ‘प्रहरीको जिम्मेवारी केवल सुरक्षा सुनिश्चित गर्नु मात्र होइन। मानव अधिकारको प्रत्याभूति गराउँदै कैदीहरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्नु हो। महिला कैदीहरूको स्वास्थ्य र स्वच्छताका सवालमा प्रहरीको भूमिका सशक्त हुनेछ।’
वीरगन्ज कारागारका जेलर विनय श्रीवास्तवका अनुसार ६ सय मात्र क्षमता रहेको कारागारमा हाल ११ सय भन्दा बढी कैदीबन्दीहरू राखिएको छ।