तनहुँ : व्यास नगरपालिकाले बजार क्षेत्रका पसलबाट एकैदिनमै तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ। प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको हो।
नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिनुभयो।
यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलो पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु तीन हजार जरिवाना तोकिएको छ। प्रयोगकर्तालाई भने पहिलो पटक रु दश, दोस्रो पटक रु ५० जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।