
सप्तरी : महिनावारी स्वच्छता सञ्जाल समूहको आयोजनामा किशोरी लक्षित एकदिने क्षमता विकास तालिम सप्तरी जिल्लामा सम्पन्न भएको छ। उक्त तालिम किशोरीहरूलाई लैंगिक हिंसा, दाइजो प्रथा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको हो।
कार्यक्रम WHH को आर्थिक र प्राबिधिक सहयोगमा, महुली सामुदायिक विकास केन्द्र सप्तरीको सहकार्यमा सञ्चालित WASH परियोजनाको आयोजनामा सम्पन भएको हो र उक्त कार्यक्रममा यस संस्थाको कार्यक्षेत्रभित्र पर्ने पाँचवटा स्थानीय तहहरू अग्निसाइर, विष्णुपुर, राजगढ, डाक्नेश्वरी र सप्तकोशीबाट चयन गरिएका २५ जना किशोरीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।
तालिमको दौरानमा किशोरीहरूलाई लैंगिक हिंसा र विभेद, बाल विवाह, दाइजो प्रथा, आत्म-सुरक्षा, आत्म-विश्वास अभिवृद्धि, मनोसामाजिक सहयोग, नेतृत्व विकास, तथा सामाजिक परिचालन सम्बन्धी विषयमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरियो।
कार्यक्रममा सहभागीहरूसँग अनुभव आदानप्रदान गर्दै व्यवहारिक अभ्यास र समूह कार्यमार्फत सिकाइ प्रवाह गरेका थिए। तालिममा सहभागी किशोरीहरूले आफ्ना व्यक्तिगत अनुभव तथा समुदायमा देखिएका लैंगिक असमानता र हिंसाका घटनाहरू पनि साझा गरेका थिए, जसले तालिमलाई अझ जीवन्त र प्रभावकारी बनाएको थियो।

महुली सामुदायिक विकास केन्द्रकी वास मेन्टर इन्द्रकला चौधरीले भनिन्,”किशोरीहरूलाई आत्मविश्वासी, जानकार र सशक्त बनाउने लक्ष्यसहित यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिनेछ। किशोरीहरूमाथिको हिंसा अन्त्य गर्न र दाइजो प्रथाको न्यूनीकरणका लागि उनीहरू स्वयंको भूमिकालाई सशक्त बनाउनु अत्यन्त जरुरी छ।”
तालिममा सहभागी काजल शर्माले आफ्नो अनुभव सुनाउँदै भनिन्, “यो तालिमले मलाई मेरो अधिकारबारे जान्न र सामाजिक रूपमा उठ्न हिम्मत दिएको छ। अब म समुदायमा लैंगिक हिंसा र दाइजो प्रथाविरुद्ध बोल्न र अरूलाई पनि बोलाउन सक्ने छु।”

कार्यक्रमको समापन सत्रमा सहभागीहरूमध्ये केहीले समूहगत कार्य प्रस्तुत गर्दै समुदायमा लैंगिक हिंसा र दाइजो प्रथाविरुद्ध कसरी काम गर्न सकिन्छ भन्ने विषयमा योजना पनि साझा गरेका थिए।
महुली सामुदायिक विकास केन्द्रका पालिका संयोजक प्रमिला चौधरीले भनिन्, “यस्ता तालिमहरूले किशोरीहरूको व्यक्तिगत क्षमता अभिवृद्धि मात्र होइन, उनीहरूलाई सामाजिक परिवर्तनका लागि उत्प्रेरकको रूपमा तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्छ।”


523 पटक हेरिएको 

