
काभ्रे : नमोवुद्ध नगरपालिका–११ माख्लो डाँडाकटेरीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२ को अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचकहरु पुरा गरेपछि नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता तथा युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइवानको विशिष्ट आतिथ्यतामा माख्लो डाँडाकटेरीलाई सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।
“सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२” जारी भए पश्चात् ‘माख्लो डाँडाकटेरी’ नेपालको पहिलो, काभ्रेपलाञ्चोक जिल्लाको तेस्रो र नमोबुद्ध नगरपालिकाको पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ बनेको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागले २०८२ श्रावण १५ गते सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२ जारी गरेको थियो।
नमोबुद्ध नगरपालिकाको समन्वयमा, युनिसेफ नेपालको सहयोग र कार्यान्वयन साझेदार सिविक फोरमको सहजीकरणमा उक्त समुदायको ३५ घरधुरीमै सफा र गुणस्तरीय पिउने पानीको व्यवस्था गरिएको छ । यो खानेपानी योजनामा पानी शुद्धिकरणको लागि स्वचालित क्लोरिनेशन प्रणाली जडान गरिएको छ ।
कार्यक्रममा नमोवुद्ध नगरपालिकाका नगर प्रमुख लामाले खानेपानी आयोजनाको गुणस्तरीयतालाई कायम गर्ने जिम्मेवारी अब स्थानीयकै काँधमा आएको भन्दै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । नगर प्रमुख लामाले युनिसेफ र सिविक फोरमले दुःखमा लगाएको गुन कहिल्यै नबिर्सिने बताउनुभयो । नगरपालिकाले सुरु गरेको एक घर, एक धारा अभियानमा गत असोजको बाढी पहिरोले अवरोध गरेको भए पनि क्षति पुनःनिर्माण गर्दै घरघरमा खानेपानी पु¥याउन गरेको साझेदारीप्रति उहाँले आभार व्यक्त गर्नुभयो। उहाँले खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर नगरपालिकाले काम गरिरहेको पनि बताउनुभयो । युनिसेफले बनाएको खानेपानी संरचनाको संरक्षण, निरन्तरता दिने काम आफुहरुको दायित्व भएको नगर प्रमुख लामाले बताउनुभयो।

घोषणा कार्यक्रमका विशेष अतिथी एवं युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइवानले सुरक्षित खानेपानी योजना सम्पन्न भएकोमा स्थानीयलाई बधाई दिनुभयो । समुदाय संगठित र बलियो भएर काम गर्दा सहयोगी हातहरु पनि थपिँदै जाने उहाँको भनाई थियो । उहाँले उपभोक्ता समितिलाई खानेपानी आयोजनाको निरन्तरता र गुणस्तरीयतालाई कायम गर्नका लागि मर्मत सम्भार कोषलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो । स्थानीयको सक्रियताले नै आयोजना दिगो हुने उहाँको भनाई छ ।
बाढीले ३ सय भन्दा बढी खानेपानी आयोजनामा क्षति
खानेपानी तथा सरसफाई डिभिजन नं. का ३ प्रमुख सृष्टि ख्वालापालाले स्वच्छ खानेपानीको उपलब्धतासँगै पानीजन्य रोगबाट बच्न सहयोग पुग्ने बताउनुभयो । गत असोजको बाढीपहिरोको कारण काभ्रेमा ३ सय भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको उहाँले बताउनुभयो । १ सय ११ आयोजना मर्मतपछि सञ्चालनमा आएको भएपनि अन्य धेरै आयोजना पुर्ननिर्माणको क्रममा रहेकाले थप सहयोगको लागि समेत उहाँले युनिसेफलाई आग्रह गर्नुभयो ।
नमोवुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले संकटलाई सम्बोधन गर्न स्थापित स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । एक घर एक धारा, सुरक्षित र दिगो खानेपानी आयोजनाका लागि काम गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण तामाङले गत असोजको बाढप्हिरोले धेरै संरचनामा क्षति पुगेको अवस्थामा समस्या समाधानका लागि गरेको सहकार्यका लागि कृतज्ञता व्यक्त गर्नुभयो। आगामी दिनमा पनि अझै महत्वपूर्ण साझेदारीको अपेक्षा गरिरहेको उहाँले बताउनुभयो।
सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले नमोवुद्ध नगरपालिका–११ डाँडाकटेरी, पनौती–११ बल्थली र वडा नम्बर २ बोलखे गाउँमा सुरक्षित खानेपानीको लागि काम भइरहेको बताउनुभयो । बाँकी आयोजना समेत सम्पन्नका लागि तिव्रताका साथ काम भइरहेको उहाँले बताउनुभयो। कार्यक्रमको सहजीकरण नमोवुद्ध नगरपालिका वातावरण शाखा प्रमुख सन्तोष काफ्लेले गर्नु भएको थियो ।
घरघरमै धारा निर्माणभएपछि पानीकै लागि घण्टौं खर्चिनुपर्ने समय बचत भएको स्थानीयले बताएका छन् । समुदायलाई रोगमुक्त र स्वस्थ राख्नका लागि सुरक्षित खानेपानी महत्पूर्ण भएको उनीहरुको प्रतिक्रिया छ ।
३५ घरधुरीका १ सय ९८ जना लाभान्वित
स्थानीय भक्तबहादुर तामाङले यसअघि ४ जर्किन पानी बाँडेर खाने गरेको स्मरण गर्नुभयो। उहाँका अनुसार ३५ घरधुरीको खानेपानीको स्रोत एउटै थियो । झण्डै आधा घण्टा समय खर्चिएर खानेपानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता थियो ।
अहिले घरमै खनेपानी सुविधा आएकोमा उहाँले दुःख अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँका अनुसार यसअघि डाँडाकटेरीका ३५ घरधुरीले खानेपानीका लागि एकैठाउँमा जम्मा हुन्थे । स्थानीय सानुकान्छा तामाङले खानेपानी पिउने तरिका समेत थाहा पाएको बताउनुभयो । विभिन्न तालिम मार्फत व्यवहार परिवर्तन, आयोजना मर्म सम्भार पनि सिकेको उहाँले बताउनुभयो।
सोहि कार्यक्रममा खानेपानीको स्रोत, ट्याङकी, शौचालय र धाराहरुको अनुगमन समेत गरिएको थियो । यस्तै परियोजनाको तर्फबाट वडा कार्यालयलाई वाटर सेफ कम्युनिटी प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । नगरपालिकाले सहयोगी संस्था युनिसेफलाई कदरपत्र र कार्यान्वयन साझेदार सिविक फोरमलाई प्रशंसापत्र प्रदान गरेको छ ।
नमोवुद्ध नगरपालिका–११ मा युनिसेफ र आयोजना कार्यान्वयन साझेदार संस्था सिविक फोरमको आर्थिक सहयोगमा एक घर एक धारा निर्माण सम्पन्न भएको हो ।
उक्त आयोजनाबाट ३५ घरधुरीका १ सय ९८ जना लाभान्वित भएका छन् । युनिसेफ र सिविक फोरमको १० लाख २२ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग र १ लाख ९८ हजार ४ सय ७० रुपैयाँ बराबरको स्थानीय जनश्रमदान गरी १२ लाख २० हजार ६ सय ७२ रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न भएको हो।
यस्तै मर्मत सम्भार कोषमा ५० हजार रुपैयाँ राखिएको माख्लो डाँडाकटेरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट मासमडाँडा, माख्लो भञ्ज्याङ, ककदोङ र गौरेडाँडाका स्थानीय लाभान्वित भएका छन् ।

कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, युनिसेफका दक्षिण एसिया क्षेत्रिय निर्देशक सन्जय विजेसेकरा, युनिसेफका नेपाल उपप्रतिनिधि जी ह्युन राह, वास प्रमुख मुहम्मद इर्फान सइद अलराई, खानेपानी सरसफाई तथा स्वच्छता विज्ञ, सिद्धि श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन नं.३ प्रमुख सृष्टि ख्वालापाला, नमोवुद्ध नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, वडा नम्बर १० का वडा अध्यक्ष, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर, माख्लो डाँडाकटेरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी एवं स्थानीयको उपस्थिती रहेको थियो ।


331 पटक हेरिएको 

