
सप्तरी : सप्तरीमा मेनोपोज र हाइजिन सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। महुली सामुदायिक विकास केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) को सहयोगमा सञ्चालित Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal परियोजना अन्तर्गत ४० जना किशोरीलाई लक्षित गर्दै तालिम दिईएको हो ।
तालिममा परियोजना सञ्चालन भइरहेका पाँचै पालिकाका सञ्जाल समूहका सदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए। तालिममा मेनोपोजका चरण, शारीरिक तथा मानसिक परिवर्तन, पोषण, व्यक्तिगत स्वच्छता, सुरक्षित व्यवहार, आवश्यक सहयोग प्रणाली र समग्र स्वास्थ्य व्यवस्थापन बारे जानकारी दिइएको थियो।
तालिममा सहभागी कक्षा ८ मा अध्ययनरत आयुष्मा कार्कीले मेनोपोज र हाइजिनका विषयमा यस्तो सिकाइ पाउनु निकै उपयोगी भएको बताउनुभयो।

तालिमबाट सहभागीहरूले समुदायमा खुला संवाद प्रवर्द्धन गर्ने तरिका र महिलाले सामना गर्ने सामाजिक–मनोवैज्ञानिक चुनौतीहरूको पहिचान सम्बन्धी सहजीकरण सीप पनि सिक्ने अवसर पाएका छन् ।
तालिम अन्तरक्रिया, समूहगत अभ्यास, अनुभव आदान–प्रदान तथा केस स्टडीमा आधारित व्यावहारिक सिकाइ मार्फत सम्पन्न भएको पालिका संयोजक प्रमिला चौधरीले जानकारी दिनुभयो। “तालिमले किशोरीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै समुदायमा मेनोपोज र हाइजिन सम्बन्धी सचेतना फैलाउनेमा सहयोग पुग्ने विश्वास छ” उहाँले भन्नुभयो।

यस्तै कक्षा १० मा अध्ययनरत शिक्षा मण्डलले प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो “यस्ता तालिमहरूले हाम्रो आत्मविश्वास अझ बढाएको छ।” तालिमको अन्त्यमा सहभागीहरूले आफ्ना समुदायमा मेनोपोज र हाइजिन सम्बन्धी सचेतना र सकारात्मक व्यवहार प्रवर्द्धनमा सक्रिय योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



408 पटक हेरिएको 

