स्थानीय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता योजनाको आवश्यकता

  इन्दिरा अधिकारी  1035 पटक हेरिएको

इन्दिरा अधिकारी

गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा सबै नागरिकको अधिकारको विषय हो । नेपालको संविधान धारा ३५ (४) ले पनि शुद्ध खानेपानी तथा सरसफाइ सेवा उपभोग गर्न पाउनु नागरिकको मौलिक अधिकारको रुपमा प्रत्यायोजन गरेको छ ।

यसका लागि तीनै तहका (संघ, प्रदेश र स्थानीय) सरकारको कार्यक्षेत्र एवं गन्त्तव्य पनि अन्ततगत्व वडा वस्ती र त्यहाँका जनता नै हुन् । तीनै तहको सरकारको उद्देश्य पनि संविधानको मर्म, दिगो विकास लक्ष्य र विध्यमान राष्ट्रिय ऐन नीति अनुरुप नै कार्ययोजना तयार एवं सोही अनुरुपको सेवा प्रवाह नै हो ।

के हो त खानेपानी सरसफाइ तथा स्वच्छता योजना

WASH Plan अर्थात् खानेपानी सरसफाइ तथा स्वच्छता योजना भनेको नगर⁄गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका खानेपानी तथा सरसफाई योजनाहरुलाई आगामी दश वर्षका लागि कार्यन्वयनमा लान प्राथमिकतामा राखेका योजनाहरुको दस्तावेज नै WASH Plan  हो ।

यो केवल योजनाको एउटा चाङ्ग मात्र नभएर स्थानीय तहको लागि खानेपानी तथा सरसफाइ क्षेत्रको आगामी गन्तव्य एवं दिशानिर्देश गर्ने मार्गदर्शन पनि हो । यो योजना स्थानीय तहले प्रदेश सरकार, संघ सरकार, दातृ निकाय र यस क्षेत्रमा कार्यरत संघ संस्थामा योजना कार्यन्वयनका लागि पेश गर्ने तथ्याकं र प्रारम्भिक अनुमानित लागत सहितको आवाधिक योजना पनि हो ।

खानेपानी, सरसफाइ तथा स्वच्छतासंग अन्तर्सम्बन्धित विषयवस्तुहरु जस्तै लैङ्गिक समानता र सामाजिक समावेशीता (Gender Equality and Social Inclusion),  जलवायु परिवर्तन अनुकुलन (Climate Change Adaptation), विपद जोखिम व्यवस्थापन (Disaster Risk Management)  आदिलाई महत्व दिदैं स्रोत परिचालन र प्रबर्धन योजना तयार पार्नु पनि हो ।

कानुनी तथा नीतिगत व्यवस्था

स्थानीय सरकार संचालन ऐन २०७४, परिच्छेद ६, योजना तर्जुमा तथा कार्यान्वयन, दफा २४ मा योजना बनाई कार्यन्वयन गर्न नगरपालिका तथा गाउँपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा स्थानीय स्तरको विकासको लागि आवाधिक, वार्षिक एवं रणनीतिक क्षेत्रगत योजना बनाई लागू  गर्नुपर्दछ भन्ने उल्लेख गरिएको छ ।

नेपालको सोह्रौं योजनाको परिच्छेद ७, योजनाबद्ध, दिगो र उत्थानशील शहरीकरण तथा वस्ती विकास शिर्षक अन्तर्गत “सबै प्रदेश राजधानी र प्रमुख शहरमा स्वच्छ पिउने पानीको व्यवस्थापन”, “पानीका स्रोतहरुको संरक्षण र पुनर्भरण कार्यक्रम”, “नदीजन्य स्रोतको सरसफाई र संरक्षण कार्यक्रम” र “एकीकृत शहरी फोहर व्यवस्थापन कार्यक्रम (स्रोतमा बर्गीकरण सहित)” लगायतका कार्यक्रमहरुलाई  प्रमुखताका साथ समेटीएको छ ।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि WASH Plan मा प्राथमिकताका साथ राखिएका योजनाहरुलाई वार्षिक योजना तर्जुमाका लागि सहज होस् भन्ने ध्येयका साथ “ खानेपानी सरसफाई तथा स्वच्छता (खासस्व) योजना (वास प्लान) तर्जुमा मार्गदर्शन २०७६”  निर्माण गरेको छ ।

यसै सन्दर्भमा गाउँपालिका राष्ट्रिय महासंघले पनि वास प्लानका योजनाहरुलाई वार्षिक योजना तर्जुमा प्रकृयामा एकिकृत गर्नका लागि “स्थानीय सरकारको खानेपानी सरसफाई तथा स्वच्छतामुखी वार्षिक योजना तर्जुमा दिग्दर्शन” तयार गरेको छ ।

जसमा स्थानीय स्तरको योजना तर्जुमाका ७ वटा चरणहरु, जिम्मेवार शाखा र समयसीमा खुलाईएको छ । यसले स्थानीय तहहरुलाई खानेपानी, सरसफाइ क्षेत्रका विशेष गरी वास प्लानका योजनाहरुलाई वार्षिक योजना प्रकृयामा एकिकृत गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय तहहरुमा WASH Plan को अवस्था

सम्पूर्ण ४६० वटा गाउँपालिकाहरुको  WASH Plan को अवस्था हेर्दा २०८२ कार्तिक १५ सम्मको NWASH-MIS update अनुसार WASH Plan सम्पन्न भएका गाउँपालिका संख्या २०६, निर्माण चरणमा रहेको संख्या ४२ र निर्माण शुरुवात नै नभएका गाउँपालिकाहरुको संख्या २१२ रहेको देखिन्छ ।

यद्यपि सम्पन्न भइसकेका केही गाउँपालिकाको हकमा पनि WASH Plan लाई सभाबाट अनुमोदन लगायत केही प्रकृया बाँकी रहेको देखिन्छ।

 वास प्लान निर्माणका चरणहरुः

WASH Plan कार्यान्वयनको अवस्था

WASH Plan निर्माणलाई अहिले आएर स्थानीय तहहरुले पनि प्राथमिकतामा राख्ने र सो को लागि बजेट विनीयोजन गर्ने या त विकास साझेदार मार्फत भएपनि निर्माण कार्यलाई तिव्रता दिईरहेका छन् । यस भन्दा अगाडी निर्माण गरिसकेका गाउँपालिकाहरुले पनि कमै मात्रमा वार्षिक योजना तर्जुमा प्रक्रियामा प्राथमिकतामा राखेका छन् भने कतिपयलाई त आफ्नो स्थानीय तहमा यसको निर्माण भईसकेकोसम्म पनि जानकारी राखेका छैनन् या त राख्न आवश्यक ठानेका छैनन् ।

यसै आर्थिक वर्षमा खानेपानी मन्त्रालयले WASH Plan निर्माण तथा कार्यन्वयनका अन्तर्गत ११० वटा गाउँपालिकाहरुको लागि सूचना व्यवस्थापन बजेट उपशिर्षक अन्तर्गत क्रमश रु १ लाख, २ लाख र ५ लाख विनीयोजन पनि गरेको छ ।

WASH Plan लाई प्राथमिकतामा राखी कार्यान्वयनको लागि अबको बाटो

WASH Plan NWASH-MIS App Tool मार्फत  निर्माण गरिने योजना हो र यसको पहूँच संघ र प्रदेश सरकालाई पनि हुन्छ । यसको निर्माणमा स्थानीयस्तरको सहभागिता वस्ती, वडा हुँदै स्थानीय तहको केन्द्रसम्मको सहभागिता र प्राथमिकतालाई आधार मानिन्छ ।

तसर्थ सम्बन्धित स्थानीय तहदेखि प्रदेश सरकार र संघ सरकारले खानेपानी तथा सरसफाइका योजनाहरुलाई योजना तर्जुमा र बजेट विनीयोजन गर्दा  WASH Plan लाई नै प्राथमिकता दिएमा मात्र यस योजनाको सफल कार्यन्वयन एवं यस क्षेत्रमा गरिएका विभिन्न प्रतिबद्दता तथा जनतालाई दिगो खानेपानी तथा  सरसफाई सेवा प्रदान गर्न सकिन्छ अन्यथा जनताका आवश्यकता र प्राथमिकता एकातिर अनि हाम्रो विकास पद्दति अर्को तर्फ हुने देखिन्छ ।

केही गाउँपालिकाहरुले आफ्नो पालिकाभित्र खानेपानी तथा सरसफाइ क्षेत्रमा  काम गर्ने संघ संस्थालाई WASH Plan ले प्राथमिकतामा राखेका योजनाहरु मात्र कार्यन्वयन गर्न सचेत गराएका छन भने केही पालिकाहरुले यस अन्तर्गतका योजनालाई पनि वार्षिक योजना तर्जुमा प्रक्रियामा प्राथमिकतामा राखेका छन् ।

तसर्थ संघ तथा प्रदेश सरकारलाई पनि स साना योजना निर्माणमा नअल्झिकन स्थानीय तहले प्राथिमकतामा राखेका जटिल र बृहत लगानिका योजनाहरु तर्जुमा गरी कार्यन्वयनका लागि पनि अनुरोध गर्दछौं । तब मात्र नेपालले लिएको राष्ट्रिय निति तथा दिगो विकास लक्ष्य प्राप्त गर्नमा हामी सक्षम हुनेछौं ।

दिगो खानेपानी तथा सरसफाई सेवा प्रदान गर्नु हामी सबैको कर्तव्य हो ।

लेखक इन्दिरा अधिकारी गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यक्रम संयोजक, (वास) हुनुहुन्छ।

 

 

 

 

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार