
फेवातालको शान्त पानीमा डुंगा खियाउँदै पर्यटकलाई सयर गराउने माझीको जीविका होस् वा अन्नपूर्ण आधार शिविरतर्फ उक्लिरहेका पदयात्रीको यात्रामा देखिने हिमाल र हिमनदी, गण्डकी प्रदेशको पर्यटनमा पानी कतै न कतै जोडिएकै छ ।
पोखराका तालदेखि म्याग्दीको रुप्से झरना, सिङ्गा र भुरुङ तातोपानीका कुण्डदेखि कालीगण्डकीका खोँचसम्म पानीले प्रकृतिलाई आकर्षणमा र आकर्षणलाई आम्दानीमा रूपान्तरण गरेको छ । यहाँको पानी केवल दृश्यको सुन्दरता होइन; यो स्थानीयको रोजगारी, होटल–रेस्टुरेन्टको व्यवसाय, यातायातको चहलपहल र पर्यटकको अनुभवसँग जोडिएको जीवनरेखा पनि हो ।
गण्डकीको भौगोलिक विविधताले पानीसँग जोडिएका पर्यटकीय अनुभवलाई झन् फराकिलो बनाएको छ । हिमालको काखमा पदयात्रा, तालमा डुंगा सयर, झरनाको छेउमा रमाउने अनुभव, प्राकृतिक तातोपानीमा स्नान र नदीका खोँचमाथि गरिने बन्जी जम्पिङले यस प्रदेशलाई फरक–फरक रुचिका पर्यटकका लागि आकर्षक बनाएका छन् ।

पोखरा र आसपासका ताल, म्याग्दीका झरना तथा तातोपानी, मुस्ताङ र मनाङका हिमाली पदमार्ग, अन्नपूर्ण क्षेत्रका आधार शिविर र पर्वतीय मार्गले पर्यटनको विविध रूप देखाउँछन् । यी गन्तव्यको आकर्षण प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन; तिनले गाउँका घरबास, साना पसल, भरिया, पथप्रदर्शक, डुंगा चालक र स्थानीय उत्पादन बेच्ने उद्यमीको आम्दानीसँग पनि सम्बन्ध राख्छन् ।
तर पर्यटकलाई आकर्षित गर्ने यही पानी सधैँ सहज र सुरक्षित स्रोतका रूपमा रहन्छ भन्ने छैन । जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा हिउँ र हिमनदीको अवस्था बदलिनु, वर्षाको स्वरूप अनिश्चित हुनु, नदीमा आकस्मिक बहाव बढ्नु, बाढीपहिरोको जोखिम र ताल–नदीमा फोहोर तथा प्रदूषण बढ्नुले पर्यटनसम्बन्धी गन्तव्य र व्यवसाय दुवैलाई चुनौती दिन सक्छ । कतै पर्यटकको चापसँगै पानीको माग बढिरहेको छ, कतै सरसफाइ र फोहोर व्यवस्थापन कमजोर छ, त कतै विपद्का कारण पदमार्ग, सडक र पर्यटकीय सेवामा अवरोध आइरहन्छ ।
यही आश्विन ९ देखि ११ गतेसम्म परेको पानीले पोखरादेखि जोमसोमसम्म सडक र बस्तीमा पु¥याएको क्षति यसैको पछिल्लो उदाहरण हो । पानीकै कारण चिनिएका गन्तव्यमा पानीको उपलब्धता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्न नसकिए त्यसले पर्यटकको अनुभव मात्र होइन, स्थानीय समुदायको जीविकोपार्जनलाई समेत असर पार्छ ।
त्यसैले गण्डकीको पर्यटन विकासलाई पर्यटकीय स्थलको प्रचार, पूर्वाधार विस्तार र पर्यटकको संख्या बढाउने प्रयासमा मात्र सीमित राख्न मिल्दैन । ताल, नदी, झरना, तातोपानीका मुहान र हिमाली जलस्रोतको संरक्षण; फोहोर तथा प्रदूषण नियन्त्रण; विपद् जोखिम न्यूनीकरण; र पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुर्याउने व्यवस्था पनि उत्तिकै आवश्यक छन् ।
पानीलाई प्रकृतिको उपहारका रूपमा उपभोग गर्ने मात्र होइन, साझा सम्पदा र भविष्यको आधारका रूपमा जोगाउने सोच विकास गर्न सके गण्डकीको पर्यटन दिगो बन्न सक्छ । आखिर, पानीले चिनाएको गण्डकीको पहिचान जोगाउने प्रश्न पर्यटकीय गन्तव्य जोगाउने प्रश्न मात्र होइन, यहाँका मानिसको आजीविका, प्राकृतिक सम्पदा र भावी पुस्ताको भविष्य जोगाउने प्रश्न पनि हो ।
तालमा पर्यटक, किनारमा जीविका : पानीले धानेको गण्डकीको पर्यटन
बिहानको घाम फेवातालको पानीमा छचल्किन थाल्दा पोखराका डुंगा चालक आफ्नो दिनको काममा निस्कन्छन् । तालमा डुंगा चढ्ने पर्यटकका लागि यो सुन्दर दृश्य र रमाइलो अनुभव हो; तर डुंगा चालकका लागि यही पानी परिवारको चुलो बाल्ने आधार पनि हो ।
ताल किनारका होटल, रेस्टुरेण्ट, यातायात व्यवसायी, पसल सञ्चालक र स्थानीय उत्पादन बेच्ने साना व्यापारीको आम्दानी पनि पर्यटकको आगमनसँग जोडिएको छ । गण्डकीमा पानी केवल आँखाले हेर्ने प्राकृतिक दृश्य होइन, यो रोजगारी सिर्जना गर्ने, व्यवसाय चलाउने र स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने प्राकृतिक सम्पदा हो ।
पोखराका फेवाताल र बेगनासतालले गण्डकीको पर्यटनलाई पानीसँग जोड्ने प्रमुख आकर्षणका रूपमा चिनाएका छन् । तालमा डुंगा सयर, किनारबाट देखिने हिमाली दृश्य, सूर्योदय र सूर्यास्तको अनुभव लिन आउने पर्यटकले आसपासका व्यवसायलाई चलायमान बनाउँछन् ।
पर्यटकले डुंगा चढ्दा वा होटलमा बस्दा खर्च गर्ने रकम त्यहीँ रोकिन्न; त्यसले डुंगा चालकको आम्दानी, होटलका कर्मचारीको पारिश्रमिक, किसानको तरकारी बिक्री, स्थानीय पसलको कारोबार र यातायात व्यवसायीको रोजगारीसम्म प्रभाव पार्छ । यसरी एउटा तालको आकर्षणले प्रत्यक्ष सेवा दिने व्यवसायी मात्र होइन, पर्यटनसँग अप्रत्यक्ष रूपमा जोडिएका धेरै परिवारको जीविकोपार्जनमा योगदान पु¥याउँछ । तर यसबाट हुने लाभ सबै समुदायमा समान रूपमा पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
पानीसँग जोडिएको पर्यटन पोखराका तालमा मात्र सीमित छैन । म्याग्दीका सिङ्गा तातोपानी र भुरुङ तातोपानीका प्राकृतिक कुण्डमा स्नान गर्न आउने आन्तरिक पर्यटकले स्थानीय होटल, भोजनालय, पसल र यातायात व्यवसायलाई बजार उपलब्ध गराउँछन् ।

रुप्से झरनाको प्राकृतिक सौन्दर्य र कालीगण्डकी नदीका किनार तथा खोँचले पनि यात्रु र पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेका छन् । यस्ता गन्तव्यमा पर्यटकको आगमनले स्थानीय उत्पादन, खाना, आवास र यातायात सेवाको माग बढाउँछ । तर गन्तव्यको पहिचान र प्राकृतिक आकर्षण मात्र पर्याप्त हुँदैन; त्यहाँ पुग्ने बाटो, सरसफाइ, सुरक्षित सेवा, सूचना र स्थानीय समुदायको सहभागिताले पर्यटकको अनुभव तथा व्यवसायको निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्छन् ।
मनाङ, मुस्ताङ र म्याग्दीका हिमाली पदमार्ग, अन्नपूर्ण आधार शिविर तथा विभिन्न पदयात्रा मार्गमा पनि पानीको भूमिका गहिरो छ । हिमाल, हिमपात, हिमनदी, झरना र नदीले पदयात्रालाई आकर्षक बनाउँछन् भने खानेपानीको उपलब्धता र मौसमको अवस्था यात्राको सहजता तथा सुरक्षासँग जोडिन्छ ।
पदयात्रामा आउने पर्यटकले स्थानीय घरबासमा बस्दा, खाना खाँदा, पथप्रदर्शक र भरिया लिँदा तथा स्थानीय उत्पादन खरिद गर्दा ग्रामीण अर्थतन्त्रमा खर्च पुर्याउँछन् । तर पर्यटकले खर्च गरेको रकम स्थानीय समुदायमा कति रहन्छ, रोजगारी कति स्थानीयले पाउँछन् र साना व्यवसायले पर्यटनबाट कत्तिको लाभ लिन सक्छन् भन्ने कुरा गन्तव्यअनुसार फरक पर्छ ।
फेवातालमा डुंगा चलाउने माझीको दैनिक आम्दानी, तातोपानी क्षेत्रमा होटल सञ्चालन गर्ने व्यवसायीको अनुभव, रुप्से झरना आसपासका साना व्यापारीको कारोबार र हिमाली पदमार्गमा काम गर्ने पथप्रदर्शक तथा भरियाको जीविकोपार्जनले पानी र पर्यटनबीचको सम्बन्धलाई अझ स्पष्ट पार्छ ।
यस्ता अनुभवले पर्यटनले रोजगारी सिर्जना गरेको पक्ष मात्र होइन, पर्यटक कम हुँदा, मौसम प्रतिकूल हुँदा वा पानीको स्रोत र गुणस्तरमा समस्या आउँदा स्थानीय परिवारले भोग्ने कठिनाइ पनि देखाउँछन् । यस अर्थमा गण्डकीको पर्यटनको सफलता पर्यटकको आगमन र आम्दानीमा मात्र मापन हुँदैन; प्राकृतिक सम्पदाको संरक्षण गर्दै त्यसबाट सिर्जित अवसर स्थानीय समुदायसम्म कति न्यायोचित रूपमा पुग्छ भन्ने कुराले पनि यसको दीर्घकालीन भविष्य निर्धारण गर्छ ।
हिमालको हिउँदेखि नदीको खोँचसम्म : पानीले बनाएका पर्यटकीय गन्तव्य
अन्नपूर्ण आधार शिविरतर्फ उकालो लागिरहेका पदयात्रीका लागि हिमालको सेतो हिउँ, चट्टानका बीचबाट बग्ने पानी र टाढासम्म फैलिएका हिमाली दृश्य यात्राका अविस्मरणीय आकर्षण हुन् । म्याग्दीको रुप्से झरनामा अग्लो चट्टानबाट खसिरहेको पानीले प्रकृतिको शक्ति देखाउँछ भने पर्वतको कुश्मामा कालीगण्डकी खोँचमाथि गरिने बन्जी जम्पले उचाइ र गहिराइको रोमाञ्चक अनुभव दिन्छ ।

पोखराका तालमा शान्त जलविहारदेखि मनाङ र मुस्ताङका सुक्खा देखिने भू–दृश्यबीचका नदी, मुहान र हिमाली पदमार्गसम्म गण्डकीले पर्यटकलाई प्रकृतिका अनेक रूपसँग साक्षात्कार गराउँछ । कतै पानी आफैँ पर्यटकीय आकर्षण बनेको छ, कतै त्यसले निर्माण गरेको भू–दृश्य साहसिक पर्यटनको आधार बनेको छ । तर यी आकर्षणको भविष्य पानी र प्राकृतिक वातावरणको अवस्था कस्तो रहन्छ भन्ने प्रश्नसँग पनि जोडिएको छ ।
गण्डकीको हिमाली पर्यटन बुझ्न अन्नपूर्ण, धवलागिरि र मनास्लु क्षेत्रका हिमाल तथा तिनको वरिपरि विकसित पदयात्रा मार्गलाई हेर्नुपर्छ । अन्नपूर्ण आधार शिविर र अन्नपूर्ण सर्किटजस्ता मार्गमा पर्यटक हिमाली चुचुरा हेर्न मात्र पुग्दैनन्; उनीहरूले हिमपात, हिमनदी, खोलानाला, पहाडी वनस्पति र उचाइअनुसार बदलिने प्राकृतिक वातावरणको अनुभव पनि लिन्छन् ।
हिमालमा जमेको हिउँ र त्यसबाट उत्पन्न हुने पानीले नदी तथा खोलाको जलप्रवाहमा भूमिका खेल्छ । यसैले हिमाली जलचक्रको अवस्था पदयात्राको दृश्यात्मक आकर्षणसँगै स्थानीय बस्तीको पानीको उपलब्धता र प्राकृतिक वातावरणसँग पनि सम्बन्धित छ । हिमालको हिउँलाई पर्यटनका लागि सुन्दर पृष्ठभूमि मात्र ठान्दा त्यसले धानिरहेको पारिस्थितिक प्रणाली र पानीका स्रोतको महत्व ओझेलमा पर्छ ।
ताल, नदी, झरना र खोँचले गण्डकीको पर्यटकीय पहिचानलाई अर्को आयाम दिएका छन् । पोखराका फेवाताल र बेगनासतालले जलविहार, दृश्यावलोकन र विश्रामका अवसर दिन्छन् ।

म्याग्दीको रुप्से झरना सडक यात्राका क्रममा देखिने आकर्षण मात्र नभई आसपासको प्राकृतिक भू–दृश्यसँग जोडिएको गन्तव्य हो । कालीगण्डकी नदीले हिमाली र पहाडी भूभागलाई जोड्ने प्राकृतिक मार्ग बनाउनुका साथै नदी किनार, खोँच र बस्तीको विशिष्ट भू–दृश्य प्रस्तुत गर्छ । अर्कोतर्फ, कालीगण्डकी शालीग्राम शीलाका लागि विश्वमा नै परिचित स्थल हो, जसले धार्मिक–साँस्कृतिक र पर्यटकीय महत्व बोकेको छ ।
पानीसँग सम्बन्धित भू–दृश्यले साहसिक पर्यटनका लागि पनि अवसर सिर्जना गरेका छन् । पर्वतको कुश्मामा कालीगण्डकी खोँचमाथि बनाइएका अग्ला पुल र बञ्जी जम्पजस्ता गतिविधिले उचाइ, गहिराइ र प्राकृतिक परिवेशको रोमाञ्च एकै ठाउँमा अनुभव गराउँछन् । यस्ता गतिविधिमा नदीको पानी सधैँ प्रत्यक्ष रूपमा खेलको साधन नहुन सक्छ; तर नदीले बनाएको खोँच र त्यस वरिपरिको भू–आकृतिले साहसिक अनुभवको मुख्य परिवेश तयार गर्छ ।
अर्कोतर्फ, म्याग्दीका सिंगा र भुरुङ तातोपानीका प्राकृतिक स्रोतले स्नान र विश्रामको अवसर दिन्छन् । यस्ता स्रोतको आकर्षण जोगाउन पानीको गुणस्तर, सरसफाइ, सुरक्षित प्रयोग र स्रोतको दिगो व्यवस्थापन आवश्यक हुन्छ । पर्यटकको बढ्दो चापले प्राकृतिक स्रोत र आसपासको वातावरणमा अतिरिक्त दबाब सिर्जना गर्न सक्ने भएकाले संरक्षणलाई पर्यटन व्यवस्थापनकै अभिन्न अंग बनाउनुपर्छ ।

मनाङ र मुस्ताङका कतिपय भूभाग बाहिरबाट हेर्दा सुक्खा र उजाड देखिए पनि त्यहाँका नदी, हिमपात, मुहान र सीमित पानीका स्रोत स्थानीय जीवन तथा पर्यटनका लागि अत्यन्त महत्वपूर्ण छन् । हिमाली पदयात्रा, बस्तीमा आवास सञ्चालन, खाना पकाउने, सरसफाइ गर्ने र पर्यटकलाई आधारभूत सेवा उपलब्ध गराउने काम पानीको भरपर्दो पहुँचमा निर्भर हुन्छ ।
पर्यटकले हिमाल, चट्टान र फरक भू–दृश्यको अनुभव खोज्दै जाँदा त्यहाँको नाजुक प्राकृतिक वातावरणमा पर्ने प्रभावलाई पनि विचार गर्नुपर्छ । पानीको उपलब्धता र गुणस्तर कायम राख्नु, फोहोरलाई उचित रूपमा व्यवस्थापन गर्नु, पदमार्ग र नदी आसपासको प्राकृतिक अवस्था जोगाउनु तथा पर्यटकलाई जिम्मेवार व्यवहारका लागि सचेत गराउनु आवश्यक छ । गण्डकीका पर्यटकीय गन्तव्यहरूको आकर्षण तिनको विविधतामा छ; तर त्यो विविधता दीर्घकालसम्म कायम रहन प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय समुदायको सहभागिता र जिम्मेवार पर्यटन अभ्यासलाई सँगसँगै अघि बढाउनुपर्छ ।
पानी नै आकर्षण, पानी नै जोखिम : बदलिँदो मौसमले दिदैछ पर्यटनलाई चुनौति
जुन नदीको किनारमा पर्यटक रमाउँछन्, त्यही नदीमा पानीको बहाव अचानक बढ्दा आसपासका बस्ती, पुल, सडक र पर्यटकीय पूर्वाधार जोखिममा पर्छन् । जुन हिमालको हिउँ र हिमनदी हेर्न पर्यटक टाढाटाढाबाट पुग्छन्, त्यही हिमाली क्षेत्रमा हिमपात, हिमतालसम्बन्धी जोखिम वा मौसमको आकस्मिक परिवर्तनले यात्रा कठिन र असुरक्षित बनाउन सक्छ ।
गण्डकी प्रदेशमा पानी प्रकृतिको आकर्षण मात्र होइन, पर्यटन व्यवसायको आधार पनि हो । त्यसैले पानीको मात्रा, गुणस्तर र मौसमी व्यवहारमा आउने परिवर्तनलाई प्राकृतिक घटनाका रूपमा मात्र बुझ्न मिल्दैन; यसको सम्बन्ध पर्यटकको सुरक्षा, व्यवसायको निरन्तरता र स्थानीय परिवारको आम्दानीसँग पनि जोडिएको छ । प्रकृतिले दिएको आकर्षण जोगाउने चुनौती अब त्यसबाट लाभ लिने समुदाय र पर्यटन व्यवसायको भविष्यसँग गाँसिएको छ ।
हिमाली क्षेत्रमा देखिने परिवर्तनले यो चुनौतीलाई अझ गम्भीर बनाएको छ । तापक्रम वृद्धि, हिमनदीको अवस्था र हिमपातको स्वरूपमा हुने परिवर्तनले पानीका स्रोत तथा हिमाली पारिस्थितिक प्रणालीमा असर पार्छन् । सन् २०२४ मा मनास्लु हिमनदीको अगाडिको भागबाट ठूलो बरफको पिण्ड तालमा खस्दा तालको पानी अचानक बाहिरिएर गोरखाको बूढीगण्डकी नदीमा बाढी आएको घटनालाई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र सहकार्य गर्ने अनुसन्धानकर्ताहरूले अध्ययन गरेका थिए ।

उनीहरूको विश्लेषण अनुसार उक्त घटना सामान्य हिमताल विस्फोटजन्य बाढी थिएन; बरफको पिण्ड तालमा खस्दा उत्पन्न भएको तरंगले पानी बाहिर निस्किएको थियो । अध्ययनले हिमनदीको गतिशीलता, बरफ खस्ने प्रक्रिया र सम्भावित जोखिमको निरन्तर निगरानी आवश्यक रहेको औँल्याएको छ । यस्ता घटनाले हिमाली पर्यटनमा मौसमको पूर्वानुमान, जोखिमसम्बन्धी सूचना र पदयात्रीको सुरक्षालाई सामान्य व्यवस्थापकीय विषयभन्दा बढी महत्व दिनुपर्ने देखाउँछन् ।
अतिवृष्टि, बाढीपहिरो र नदी कटानले पनि पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटो र त्यहाँ सञ्चालन हुने सेवामा अवरोध सिर्जना गरिरहन्छन् । सडक वा पुल क्षतिग्रस्त हुँदा पर्यटकको आवागमन रोकिन्छ, पदमार्ग असुरक्षित हुँदा यात्रा स्थगित हुन सक्छ र होटल तथा घरबासमा आउने बुकिङ रद्द हुन सक्छन् । यस्तो अवस्थामा क्षति सडक वा भौतिक संरचनामा मात्र सीमित रहँदैन; पर्यटकको आगमनमा निर्भर व्यवसायी, गाइड, भरिया, यातायात मजदुर र साना व्यापारीको आम्दानीसमेत प्रभावित हुन्छन् ।
इसिमोडले सन् २०२५ मा प्रकाशित नेपाललाई जलवायु–सहनशील पर्यटनतर्फ लैजानेसम्बन्धी प्राविधिक टिप्पणीमा जलवायुजन्य जोखिम, हिमनदीको क्षय, बाढीपहिरो, चरम मौसम र वातावरणीय क्षयलाई पर्यटन क्षेत्रका चुनौतीका रूपमा उल्लेख गरेको छ । त्यसैले पर्यटकीय गन्तव्यको प्रचारसँगै जोखिमको नियमित मूल्याङ्कन, सुरक्षित वैकल्पिक मार्ग, समयमै सूचना र विपद् प्रतिकार्यको तयारी पनि आवश्यक हुन्छ ।

पानीको जोखिम सधैँ बाढी वा पहिरोका रूपमा मात्र देखिँदैन । मनाङ र मुस्ताङजस्ता उच्च हिमाली क्षेत्रमा पानीको उपलब्धता र मौसमी वितरण स्थानीय जीवन तथा पर्यटन सेवाका लागि महत्वपूर्ण हुन्छ । होटल, भोजनालय र घरबासमा पर्यटकको चाप बढ्दा खानेपानी, खाना पकाउने र सरसफाइका लागि पानीको माग पनि बढ्छ । तर स्रोत सीमित भएको ठाउँमा स्थानीय बासिन्दाको दैनिक आवश्यकता र पर्यटन व्यवसायको मागबीच सन्तुलन कायम गर्न चुनौती हुन्छ ।
मुस्ताङको माथिल्लो कालीगण्डकी जलाधारमा गरिएको अनुसन्धानले पानीको उपयोगमा भौगोलिक कठिनाइ, व्यवस्थापकीय कमजोरी र प्राकृतिक जोखिमले बाधा पुर्याउन सक्ने देखाएको छ । यस सन्दर्भमा पर्यटन विकासको मूल्यांकन गर्दा होटलको संख्या वा पर्यटकको आगमन मात्र होइन, स्थानीय समुदायलाई पर्याप्त र सुरक्षित पानी उपलब्ध छ कि छैन भन्ने प्रश्नलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।
ताल र नदीको प्रदूषणले पनि पर्यटनको आधार कमजोर बनाउँछ । पानीमा फोहोर फाल्ने, ढलको उचित व्यवस्थापन नगर्ने वा किनारमा पर्यटकीय गतिविधि बढ्दै जाँदा सरसफाइमा ध्यान नदिने हो भने प्राकृतिक सौन्दर्य र पानीको गुणस्तर दुवै प्रभावित हुन्छन् ।
यसले जलविहार, नदी किनारको भ्रमण, तातोपानी कुण्डको प्रयोग र आसपासको वातावरणप्रतिको पर्यटकको धारणामा असर पार्छ । त्यस्तै, प्रतिकूल मौसममा पदयात्रा, बञ्जी जम्प र नदी किनारका गतिविधि सञ्चालन गर्दा जोखिमको पुनर्मूल्याङ्कन, आवश्यक सुरक्षा मापदण्ड र समयमै गतिविधि रोक्ने निर्णय महत्वपूर्ण हुन्छ । पर्यटकको सुरक्षा सुनिश्चित गर्नु व्यवसायको प्रतिष्ठासँग मात्र सम्बन्धित छैन; स्थानीय कामदार र समुदायको सुरक्षासँग पनि जोडिएको छ ।
यी जोखिमको वास्तविक प्रभाव बुझ्न सरकारी तथ्यांक र वैज्ञानिक अध्ययनसँगै स्थानीय अनुभव पनि निकै महत्वपूर्ण हुन्छ । वर्षाका कारण पर्यटकको बुकिङ रद्द भएको अनुभव सुनाउने होटल व्यवसायी, मौसम बिग्रिएपछि पदयात्रा स्थगित गर्नुपरेको बताउने गाइड, बाटो अवरुद्ध हुँदा काम गुमाएका भरिया वा सुक्खा मौसममा पानीको व्यवस्थापन गर्न संघर्ष गरिरहेका स्थानीय बासिन्दाका कथाले जोखिमको मानवीय पक्ष उजागर गर्छन् ।
गण्डकीको पर्यटनलाई सुरक्षित र दिगो बनाउन जलवायु तथा विपद् जोखिमको निगरानी, भरपर्दो पूर्वसूचना, पानीका स्रोतको संरक्षण, फोहोर व्यवस्थापन र स्थानीय समुदायको सहभागिता एकसाथ अघि बढाउनुपर्छ । पानीले चिनाएको गण्डकीको पर्यटन जोगाउने अर्थ पानीबाट बनेका दृश्य जोगाउनु मात्र होइन; ती दृश्यसँग जोडिएको मानव जीवन, रोजगारी र भविष्यलाई पनि सुरक्षित राख्नु हो ।
पानी जोगिए पर्यटन जोगिन्छ : संरक्षण, समुदाय र दिगो पर्यटनको बाटो
फेवाताल सफा राख्ने प्रयास, हिमाली पदमार्गमा फोहोर नियन्त्रण, तातोपानी कुण्डको व्यवस्थित सञ्चालन र नदी किनारका बस्तीमा विपद् पूर्वतयारी, यी काम अलग–अलग देखिए पनि तिनको उद्देश्य एउटै छ : पर्यटनलाई सम्भव बनाउने प्राकृतिक आधार जोगाउनु ।
पर्यटक आउनु पर्यटन व्यवसायका लागि सफलता हो, तर उनीहरू फर्किएपछि पनि ताल सफा रहनु, पानीका स्रोत सुरक्षित रहनु, स्थानीयले आम्दानी पाइरहनु र विपद्को जोखिम घट्नु दिगो पर्यटनको वास्तविक परीक्षा हो । गण्डकीका पर्यटकीय गन्तव्यको भविष्य पर्यटकको संख्याले मात्र निर्धारण गर्दैन; त्यहाँको पानी, प्राकृतिक वातावरण र स्थानीय समुदाय बीचको सम्बन्ध कति सन्तुलित छ भन्ने कुराले पनि निर्धारण गर्छ ।
यसका लागि ताल, नदी, झरना र मुहानको संरक्षणलाई पर्यटकीय पूर्वाधार विकाससँगै अघि बढाउनुपर्छ । फेवाताल र बेगनासताल जस्ता गन्तव्यमा फोहोर व्यवस्थापन, ढलको उचित निकास, पानीको गुणस्तरको नियमित परीक्षण र किनारको वातावरण संरक्षण महत्वपूर्ण छन् ।

हिमाली पदमार्गमा प्लास्टिक तथा अन्य फोहोर नियन्त्रण, पर्यटक र व्यवसायीलाई जिम्मेवार व्यवहारका लागि प्रोत्साहन, तातोपानी कुण्डको सरसफाइ र प्राकृतिक स्रोतको दिगो उपयोगले गन्तव्यको आकर्षण जोगाउन मद्दत गर्छन् । संरक्षणका प्रयास पर्यटकको चाप बढी भएका ठाउँमा मात्र सीमित हुनु हुँदैन; पर्यटन विस्तार भइरहेका ग्रामीण तथा हिमाली क्षेत्रका पानीका स्रोतलाई पनि सुरुदेखि नै योजनाबद्ध रूपमा संरक्षण गर्न आवश्यक छ ।
प्राकृतिक सम्पदाको संरक्षण सरकारी निकायको जिम्मेवारी मात्र होइन । ताल किनारका व्यवसायी, होटल तथा घरबास सञ्चालक, स्थानीय आमा समूह, युवा क्लब, सामुदायिक संस्था, पथप्रदर्शक र पर्यटनसँग जोडिएका श्रमिकले दैनिक अभ्यासमार्फत संरक्षणमा योगदान दिन सक्छन् ।
होटलले पानीको मितव्ययी उपयोग र फोहोर व्यवस्थापन गर्न सक्छन्; पदयात्रा सञ्चालकले पर्यटकलाई फोहोर आफैँ व्यवस्थापन गर्न प्रोत्साहित गर्न सक्छन्; स्थानीय समूहले मुहान संरक्षण र सरसफाइ अभियान सञ्चालन गर्न सक्छन् । तर समुदायलाई जिम्मेवारी दिने मात्र होइन, आवश्यक स्रोत, प्राविधिक सहयोग र निर्णय प्रक्रियामा सहभागिताको अवसर पनि दिनुपर्छ । पर्यटनबाट आम्दानी गर्ने व्यवसाय र संस्थाले आफूले लाभ लिइरहेको प्राकृतिक सम्पदाको संरक्षणमा कति योगदान गरिरहेका छन् भन्ने प्रश्न पनि यसैसँग जोडिन्छ ।
स्थानीय तह र गण्डकी प्रदेश सरकारले पर्यटन विकासका योजना बनाउँदा खानेपानी, सरसफाइ, वातावरणीय व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणलाई एकीकृत गर्न आवश्यक छ । पर्यटकीय क्षेत्रमा पानीको माग र उपलब्धताको नियमित मूल्यांकन, सुरक्षित खानेपानीको व्यवस्था, ढल तथा फोहोर व्यवस्थापनका पूर्वाधार र जोखिमयुक्त क्षेत्रमा निर्माण तथा गतिविधिको नियमनले पर्यटनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउँछ ।
बाढीपहिरोको सम्भावना भएका क्षेत्रमा मौसम सम्बन्धी सूचना समयमै पुर्याउने, पदमार्गको अवस्था नियमित जाँच गर्ने, पर्यटकलाई आवश्यक चेतावनी दिने र उद्धारको व्यवस्था तयार राख्ने काम पनि उत्तिकै महत्वपूर्ण छन् । विशेषगरी हिमाली क्षेत्रमा मौसम छिटो बदलिन सक्ने भएकाले पदयात्रा र साहसिक गतिविधि सञ्चालन गर्ने निकायले जोखिमको अवस्था हेरेर यात्रा स्थगित गर्ने वा मार्ग परिवर्तन गर्ने स्पष्ट प्रक्रिया अपनाउनुपर्छ ।

दिगो पर्यटनको अर्को महत्वपूर्ण पक्ष पानीको उपयोगमा न्यायोचित सन्तुलन कायम गर्नु हो । पर्यटकको चाप बढ्दा होटल, भोजनालय र अन्य सेवामा पानीको माग बढ्छ; तर त्यसका कारण स्थानीय बासिन्दाको खानेपानी र सरसफाइको आवश्यकता पछाडि पर्नु हुँदैन । मनाङ, मुस्ताङ तथा अन्य पानीका स्रोत सीमित भएका गन्तव्यमा स्थानीय आवश्यकता, पर्यटकीय माग र उपलब्ध स्रोतको अवस्था बुझेर योजना बनाउनुपर्छ ।
पानीको पुनःप्रयोग सम्भव हुने ठाउँमा उपयुक्त प्रविधि अपनाउने, चुहावट घटाउने र पानीको स्रोतलाई प्रदूषणबाट जोगाउने उपायले दबाब कम गर्छन् । पर्यटनबाट प्राप्त आम्दानीको केही हिस्सा गन्तव्यको वातावरणीय संरक्षण, पानीका स्रोतको पुनस्र्थापना र विपद् पूर्वतयारीमा लगानी गर्ने व्यवस्था गर्न सके पर्यटनको आर्थिक लाभ र प्राकृतिक सम्पदाको संरक्षणबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकिन्छ ।
गण्डकी प्रदेशको पर्यटन विकासलाई दीर्घकालीन बनाउन पानीका स्रोतको संरक्षण, जलवायु परिवर्तनसँग अनुकूलन, विपद् व्यवस्थापन र स्थानीय समुदायको जीविकोपार्जनलाई एउटै कार्य योजनामा जोड्नु आवश्यक छ । यस्तो योजनामा ताल, नदी, झरना, तातोपानीका स्रोत र हिमाली जलप्रणालीको अवस्था अभिलेख गर्ने; जोखिमयुक्त गन्तव्य पहिचान गर्ने; पानी तथा फोहोर व्यवस्थापन सुधार्ने र संरक्षणका कामको नियमित अनुगमन गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ ।
योजनाको सफलता बजेट विनियोजन वा कार्यक्रम सञ्चालनमा मात्र सीमित हुनु हुँदैन; पानीको गुणस्तरमा सुधार आयो कि आएन, स्थानीयको पहुँच सुरक्षित रह्यो कि रहेन, विपद् जोखिम घट्यो कि घटेन र पर्यटनबाट सिर्जित लाभ समुदायसम्म पुग्यो कि पुगेन भन्ने आधारमा पनि मूल्यांकन गर्नुपर्छ । यसका लागि स्थानीय बासिन्दा र पर्यटन व्यवसायीको अनुभवलाई योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म समेट्नु उत्तिकै महत्वपूर्ण छ ।

गण्डकीको पहिचान हिमाल, ताल, नदी, झरना र तातोपानीले बनेको छ; तर यी सम्पदाको वास्तविक मूल्य तिनले स्थानीय जीवनलाई दिएको आधार र भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने सम्भावनामा पनि छ । पर्यटन प्रबर्द्वन र प्राकृतिक स्रोत संरक्षणलाई परस्पर विरोधी कामका रूपमा होइन, एकअर्कालाई बलियो बनाउने प्रक्रियाका रूपमा बुझ्नुपर्छ ।
पानी जोगिए पर्यटकीय आकर्षण जोगिन्छ, आकर्षण जोगिए स्थानीय रोजगारी र व्यवसायले निरन्तरता पाउने सम्भावना बढ्छ, र स्थानीय समुदाय लाभान्वित भए संरक्षण प्रतिको अपनत्व पनि बलियो बन्न सक्छ । त्यसैले गण्डकीको पर्यटनको भविष्य निर्धारण गर्ने प्रश्न केवल कति पर्यटक आए भन्ने होइन, पर्यटकले अनुभव गरेको प्रकृति उनीहरू फर्किएपछि पनि कति स्वच्छ, सुरक्षित र जीवन्त रह्यो भन्ने हो ।
पानीले गण्डकीलाई पर्यटकीय पहिचान दिएको छ; अब त्यो पहिचान जोगाउने जिम्मेवारी पर्यटनबाट लाभ लिने सबैको हो ।


304 पटक हेरिएको 

