
काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण बाढी, पहिरो तथा चट्याङको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको हो।
चक्रवात भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको छ। कमजोर हुँदै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने अनुमान गरिएको यस प्रणालीको प्रभावले आगामी शनिबारसम्म नेपालको मौसम प्रतिकूल रहन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङ तथा असिनापानीको समेत सम्भावना रहेको छ।
सम्भावित मौसमजन्य जोखिमलाई ध्यानमा राख्दै विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरेको छ। अन्य विभिन्न क्षेत्रमा अरेन्ज अलर्ट जारी गर्दै मौसमको अवस्था अनुगमन गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने र सडक यातायात प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ। बाढीपहिरो र डुबानका कारण खानेपानीका मुहान, पाइपलाइन, पानी सङ्कलन ट्याङ्की तथा वितरण प्रणालीमा क्षति पुग्न सक्ने जोखिमसमेत छ। यस्तै, सरसफाइ संरचना, ढल निकास प्रणाली र शौचालयमा क्षति पुग्दा खानेपानीका स्रोत दूषित हुने तथा सरसफाइजन्य समस्या बढ्न सक्ने भएकाले सम्बन्धित निकाय र समुदायले पूर्वतयारीमा ध्यान दिन आवश्यक छ।
विशेषगरी जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिक, नदी किनारका समुदाय तथा पहिरोको जोखिममा रहेका परिवारलाई मौसमसम्बन्धी सूचनामा ध्यान दिन र जोखिमको संकेत देखिए सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
मौसम प्रतिकूल रहने अनुमान गरिएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी तथा खोलामा पानीको बहाव बढेका बेला वारपार नगर्न र चट्याङबाट जोगिन सुरक्षित स्थानमा बस्न सम्बन्धित निकायले सुझाव दिएका छन्। साथै, खानेपानी तथा सरसफाइ संरचनाको अवस्थाबारे निगरानी राख्न, सम्भावित क्षतिबाट जोगाउन आवश्यक पूर्वतयारी गर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउनसमेत आग्रह गरिएको छ।


174 पटक हेरिएको 

