वास क्षेत्रको प्रणाली सुदृढीकरण गर्न एजेन्डा फर चेन्जको तर्फबाट वाटर एड नेपाल र सोफेन बीच सम्झौता

सरकारी निकायलाई प्राविधिक सहयोग देखि स्थानीय तहको प्रणाली मूल्याङ्कन सम्मका काम गरिने

  वास खबर सम्बाददाता  413 पटक हेरिएको
🔗
574
Shares

काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको प्रणाली सुदृढीकरण तथा विकास सम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा सहकार्य गर्न एजेन्डा फर चेन्ज नेपाल (Agenda for Change Nepal) को तर्फबाट वाटर एड नेपाल र सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) बीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा वाटर एड नेपालका तर्फबाट देशीय निर्देशक सुदर्शन न्यौपाने र सोफेनका तर्फबाट अध्यक्ष डा. राजित ओझाले हस्ताक्षर गर्नुभएको हो।

एजेन्डा फर चेन्ज नेपाल (A4C Nepal) को सहकार्यमा कार्यान्वयन गरिने यस परियोजना अन्तर्गत पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन महाशाखालाई वास क्षेत्रका विकास सम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराइनेछ।

सम्झौता अनुसार सोफेनले संयुक्त क्षेत्रगत समीक्षा (JSR) तथा राष्ट्र प्रमुखहरूको पहल (HoSI) अन्तर्गतका प्रतिबद्धताको प्रगति अनुगमन गर्न सहयोग गर्नेछ। त्यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन महाशाखाको व्यावसायिक कार्ययोजना अद्यावधिक गरी कार्यान्वयन गर्ने तथा वास क्षेत्रको प्रणाली सुदृढीकरणका लागि आवश्यक उपकरण र सञ्चालन सम्बन्धी मार्गदर्शन विकास गर्ने जिम्मेवारी पनि सोफेनको हुनेछ।

परियोजना अन्तर्गत विभिन्न सरकारी निकाय तथा सरोकारवाला बीचको समन्वय सुदृढ बनाउने, प्रमाणमा आधारित अनुगमन तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने र सरकारका विभिन्न तहबीच ज्ञान तथा अनुभव आदानप्रदान गर्ने काम समेत गरिनेछ।

त्यसैगरी, संयुक्त क्षेत्रगत समीक्षा २०२३ सँग अनुकूल हुने गरी खानेपानी तथा सरसफाइ सम्बन्धी कार्ययोजना, कार्यक्षेत्रका सर्तहरू तथा सञ्चालन कार्यविधि तयार गरी स्वीकृत गराउने लक्ष्य राखिएको छ।

वास क्षेत्रका नीतिगत तथा संस्थागत विषयमा विभिन्न मन्त्रालय बीच समन्वय र संवादलाई प्रभावकारी बनाउन पनि परियोजनाले सहयोग गर्नेछ। यस क्रममा पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोग बीच हुने समन्वय बैठकका निर्णय तथा प्रतिवेदन तयार गरिने सम्झौतामा उल्लेख छ।

परियोजनाले स्थानीय तथा प्रदेश तहमा वास क्षेत्रको संस्थागत क्षमता र प्रणाली सुदृढीकरण गर्न चार स्थानीय सरकार र एउटा प्रदेश सरकारमा प्रणाली मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनका आधारमा कार्ययोजना तयार गरी कार्यान्वयनका लागि आवश्यक सहजीकरण गरिने अपेक्षा गरिएको छ।

सम्झौताको अवधि ३० अक्टोबर २०२६ देखि ३० जुन २०२७ सम्म रहनेछ। यस अवधिमा प्रारम्भिक कार्ययोजना तयार गर्ने, संस्थागत कार्ययोजना तथा सञ्चालन निर्देशिका विकास गर्ने, बहुपक्षीय समन्वय सुदृढ गर्ने र स्थानीय तथा प्रदेश तहमा प्रणाली मूल्याङ्कन गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

परियोजना सम्पन्न हुँदासम्म वास क्षेत्रको संस्थागत कार्ययोजना तथा सञ्चालन प्रणाली सुदृढ हुने, सरकारी निकाय बीचको समन्वय र सहकार्यमा सुधार आउने, प्रमाणमा आधारित अनुगमन तथा निर्णय प्रक्रियालाई सहयोग पुग्ने र स्थानीय तथा प्रदेश तहमा वास प्रणाली सुदृढीकरणका लागि कार्ययोजना तयार हुने अपेक्षा गरिएको छ।

एजेन्डा फर चेन्ज (Agenda for Change) सन् २०१५ मे महिनामा स्थापना भएको हो । यो संस्था समान उद्देश्य र सोच भएका संस्थाहरू (सदस्यहरू) बीचको एक सहकार्य हो, जसले साझा सिद्धान्तहरू र दृष्टिकोणहरूलाई अंगीकार गर्दछ ।

एजेण्डा फर चेन्जले राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग गर्दै दिगो विकास लक्ष्य ६ मा निर्दिष्ट गरिएका खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि वकालत र समर्थन गर्ने काम गर्दछ ।

एजेण्डा फर चेन्जको मुख्यालय अमेरिकामा रहेको छ। विश्वका करिब २५ देशमा एजेण्डा फर चेन्जको स्थायी च्याप्टरहरु बनेका छन्। एजेण्डा फर चेन्ज नेपालमा वाटर एड नेपाल, केयर नेपाल, अक्सफाम नेपाल, Terre des hommes (TDH), welthungerhilfe (WHH), हेल्भेटास नेपाल, फेडवासन र वास खबर आवद्ध छन् । यसको नेतृत्व वाटर एड नेपालले गरिरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार