
नवलपरासी : खानेपानी, सरसफाइ तथा पर्यावरण संरक्षणमा युवाहरूको सहभागिता र नेतृत्व विकास गर्ने उद्देश्यले बर्दघाट खानेपानी तथा सरसफाइ संस्थाले युवा अभियान सञ्चालन गरेको छ।
‘खानेपानी, सरसफाइ तथा पर्यावरणमा युवा अभियान’ नाम दिइएको कार्यक्रममा २० देखि ३० वर्ष उमेर समूहका करिब ५० जना युवाको सहभागिता रहेको थियो। कार्यक्रममा खानेपानीको गुणस्तर, फोहोर व्यवस्थापन, सरसफाइ, वातावरण संरक्षण, पानीका मुहानको सुरक्षा तथा जलवायु परिवर्तनका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख तथा संस्थाका पूर्वअध्यक्ष रुद्रप्रकाश उपाध्यायले खानेपानी, सरसफाइ र पर्यावरण संरक्षणमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापन अहिले चुनौतीका रूपमा रहेको उल्लेख गर्दै घरबाटै फोहोर वर्गीकरण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो।
युवाहरूले खानेपानी, सरसफाइ र वातावरण संरक्षणका विषयमा सही सूचना प्रवाह गर्न सके पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो। बर्दघाट नगरको आर्थिक विकासका लागि पर्यटन र कृषि महत्त्वपूर्ण आधार बन्न सक्ने उपप्रमुख उपाध्यायले बताउनुभयो। उहाँले युवाहरूलाई लक्ष्य निर्धारण, दृढता, समयसीमा र इमानदारीलाई आफ्नो कार्यशैलीमा समेट्नसमेत आग्रह गर्नुभयो।

कार्यक्रममा वन तथा वातावरण विज्ञ युवराज कँडेलले चुरे संरक्षण, खानेपानीका स्रोतको सुरक्षा र जलवायु परिवर्तनका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले बर्दघाट नगरपालिकाको करिब ६६ प्रतिशत भूभाग चुरे क्षेत्रमा पर्ने र नगरको करिब ७५ प्रतिशत जनसङ्ख्या चुरे क्षेत्रमा बसोबास गर्ने जानकारी दिँदै नगरमा खानेपानीको उपलब्धताका लागि चुरे क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो।
कँडेलले चुरे क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वबारे चर्चा गर्दै जलस्रोतको संरक्षणसँगै पानीलाई स्थानीय आयआर्जनसँग जोड्न सकिने सम्भावना औँल्याउनुभयो। पात, दुना–टपरी, माछापालन, दाउरा तथा नदीजन्य पदार्थको व्यवस्थित उपयोगबाट स्थानीय आर्थिक गतिविधि र राजस्व सङ्कलनमा योगदान पुग्न सक्ने उहाँले बताउनुभयो।
उहाँले जनसङ्ख्या वृद्धि, पानीको बढ्दो उपभोग, प्रदूषण, जलवायु परिवर्तन तथा पर्याप्त पूर्वाधारको अभावलाई पानीको सङ्कटका प्रमुख कारणका रूपमा उल्लेख गर्नुभयो। पानीका मुहानको संरक्षण, चुरे क्षेत्रको सुरक्षा र जलस्रोतको दिगो व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
संस्थाका अध्यक्ष दीपक लम्सालले युवाहरूले उठाएका जिज्ञासा र सुझावलाई सम्बोधन गर्दै अभियानको यो पहिलो चरण भएको बताउनुभयो। अबको नेतृत्व युवाहरूको काँधमा आउने भएकाले उनीहरूलाई अहिलेदेखि नै नेतृत्वका लागि तयार पार्न अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो। उहाँले युवाहरूलाई खानेपानी तथा सरसफाइसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

त्यसैगरी, संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका संयोजक कमल थापाले युवा लक्षित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। युवाहरू समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै भावी पुस्तालाई समेत स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन सकिने वा नसकिने भन्ने विषय अहिलेको महत्त्वपूर्ण चुनौती रहेको उहाँले बताउनुभयो। खानेपानीका मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वर्तमान अवस्था तथा हालसम्म सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँले संस्थाले विगतदेखि नै उपभोक्तालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सचेतनामूलक गतिविधिमार्फत उपभोक्तालाई खानेपानी तथा सरसफाइका विषयमा जानकारी गराउँदै आएको बताउनुभयो।
कार्यक्रममा बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले खानेपानी संस्थाले युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल भएको बताउनुभयो। युवा परिवर्तनका संवाहक भएकाले संस्थाहरू पनि युवामैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
युवाहरूको तर्फबाट किरण बस्यालले युवा लक्षित कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिँदै खानेपानी र सरसफाइका विषयलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो। आनन्दनगर टोलकी प्रतिनिधि एभिना मियाले कार्यक्रममा खानेपानीका विषयमा नयाँ जानकारी प्राप्त भएको उल्लेख गर्दै सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट सूचना तथा सञ्चार प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी युवाहरूले खानेपानीको गुणस्तर, सरसफाइ, वातावरण संरक्षण, मुहान संरक्षण तथा युवा सहभागिताका विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए।
संस्थाका सहव्यवस्थापक प्रमोद अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा दिव्य शान्ति युवा समूह, बाढीपीडित युवा क्लब, एमएमआर भजन समूहलगायत विभिन्न युवा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


221 पटक हेरिएको 

