खानेपानी आयोजनाको योजना तथा डिजाइनदेखि ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र क्षेत्रगत कानुन सम्मका विषय समेटिएको पुस्तक आयोजना कार्यान्वयनमा संलग्न इन्जिनियर तथा लोक सेवा आयोगका परीक्षार्थीका लागि उपयोगी हुने अपेक्षा

काठमाडौ: खानेपानी आयोजनाको योजना तथा डिजाइनदेखि ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र क्षेत्रगत कानुन सम्मका विषय समेटेर स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित गरिएको छ ।
नेपाल सरकारका सहसचिव तथा सुपरीटेन्डेन्ट इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी, सरसफाइ, वातावरण, जलप्रवाह तथा जलविज्ञान र वास क्षेत्रसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरू समेटिएका छन्। नेपालमा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि नेपाली सन्दर्भमा आधारित प्राविधिक सन्दर्भ सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तकमा खानेपानी तथा ढल आयोजनाको योजना, डिजाइन, निर्माण र व्यवस्थापनमा आवश्यक पर्ने प्राविधिक ज्ञान, डिजाइनका आधार, राष्ट्रिय मापदण्ड तथा कानुनी व्यवस्थालाई एउटै पुस्तकमा समेटिएको छ। हेरिटेज पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स प्रा.लि., भोटाहिटीले प्रकाशन गरेको पुस्तकलाई खानेपानी तथा सरसफाइ क्षेत्रका प्राविधिक जनशक्ति र इन्जिनियरिङ सेवाका परीक्षार्थीका लागि सन्दर्भ सामग्रीका रूपमा तयार गरिएको हो।
आयोजना डिजाइनमा संलग्न वास इन्जिनियर र लोक सेवा आयोगका परीक्षार्थी दुवैका लागि उपयोगी हुने गरी खानेपानी, ढल व्यवस्थापन तथा क्षेत्रगत कानुनलाई एउटै ग्रन्थमा समेटिएको
नेपालमा खानेपानी तथा सरसफाइका आयोजना निर्माण भइरहे पनि आयोजना योजना तथा डिजाइनका क्रममा नेपाली भौगोलिक, सामाजिक, प्राविधिक र नीतिगत अवस्थासँग मेल खाने सन्दर्भ सामग्रीको आवश्यकता रहँदै आएको छ। विशेष गरी आयोजनाको डिजाइन गर्दा कुन मापदण्ड र आधार प्रयोग गर्ने, पानीको स्रोतको क्षमता कसरी निर्धारण गर्ने, खानेपानीको माग कसरी प्रक्षेपण गर्ने तथा प्रशोधन र वितरण प्रणाली कसरी डिजाइन गर्ने भन्ने विषयमा प्राविधिक जनशक्तिलाई एउटै स्थानमा सान्दर्भिक जानकारी उपलब्ध गराउने उद्देश्य पुस्तकले राखेको छ।
पुस्तकका लेखक इन्जिनियर श्रेष्ठका अनुसार खानेपानी तथा सरसफाइ आयोजनाको योजना र डिजाइन गर्दा सैद्धान्तिक ज्ञानसँगै राष्ट्रिय मापदण्ड र व्यावहारिक अनुभवको पनि उत्तिकै महत्त्व हुन्छ। “खानेपानी तथा सरसफाइ आयोजनाको योजना र डिजाइन गर्दा सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन। नेपालको भौगोलिक अवस्था, राष्ट्रिय मापदण्ड र आयोजनाको व्यावहारिक पक्षलाई समेत ध्यान दिन आवश्यक हुन्छ। यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले पुस्तक तयार गरिएको हो।”
पुस्तकमा खानेपानी क्षेत्र अन्तर्गत नेपालको जलस्रोत, खानेपानी तथा सरसफाइको वर्तमान अवस्था, योजना तथा डिजाइनका आधार, पानी सङ्कलन प्रणाली, प्रसारण तथा वितरण प्रणाली, पम्पिङ, खानेपानी प्रशोधन र उन्नत प्रशोधन प्रविधिबारे विस्तृत विषय समेटिएका छन्। त्यसैगरी खानेपानी सेवा प्रदायक संस्थाको व्यवस्थापन, आम्दानी नहुने पानी (Non-Revenue Water), सञ्चालन तथा मर्मत सम्भार, वित्तीय व्यवस्थापन र जोखिम मूल्याङ्कन सम्बन्धी विषय पनि समावेश छन्।
भूमिगत पानी सम्बन्धी खण्डमा भूमिगत पानीको बहाव, भूमिगत जल प्रवाहको अनुसन्धान, ट्युबवेल डिजाइन तथा निर्माण, पम्पिङ परीक्षण र भूमिगत पानीको गुणस्तर तथा संरक्षणका विषय समेटिएका छन्। यसले भूमिगत पानीमा आधारित खानेपानी आयोजनाको अध्ययन, डिजाइन र व्यवस्थापनमा संलग्न प्राविधिक जनशक्तिलाई सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ।
त्यसै गरी फोहोरपानी तथा सरसफाइ सम्बन्धी खण्डमा ढल निकास प्रणाली, प्राथमिक तथा जैविक प्रशोधन, औद्योगिक फोहोरपानी, लेदो व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापन (FSM), सरसफाइ सेवा शृङ्खला र फोहोरपानी प्रशोधन केन्द्रको सञ्चालन तथा मर्मत सम्भारका विषय समेटिएका छन्। सरसफाइ सेवाको योजना, व्यवस्थापन, वित्तीय पक्ष र कानुनी व्यवस्थालाई समेत पुस्तकले समेटेको छ।
“खानेपानी र सरसफाइलाई छुट्टाछुट्टै पूर्वाधारका रूपमा मात्र हेरेर हुँदैन। पानीको स्रोतदेखि उपभोक्तासम्मको आपूर्ति, प्रयोगपछि निस्कने फोहोरपानी तथा दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनसम्म समग्र सेवा शृङ्खलालाई बुझ्न आवश्यक छ,” लेखक श्रेष्ठको भनाइ छ।
पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष वातावरण तथा जल विज्ञान सम्बन्धी विषयवस्तु हो। यसमा पानीको गुणस्तर तथा प्रदूषण, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, ठोस फोहोर सङ्कलन तथा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन, वातावरणीय व्यवस्थापन योजना र वातावरणीय लेखा परीक्षणका विषय समावेश छन्। त्यस्तै वास तथ्याङ्क, आपत्कालीन अवस्थामा खानेपानी तथा सरसफाइ व्यवस्थापन र जलवायु परिवर्तनले वास क्षेत्रमा पार्ने प्रभावबारे पनि चर्चा गरिएको छ।
जलप्रवाह तथा जलविज्ञान अन्तर्गत पाइपमा पानीको बहाव, चाप ह्रास, खुला नहरमा पानीको बहाव, जलचक्र, वर्षा, सतही बहाव, नदी प्रवाह तथा बाढी र जल निकास सम्बन्धी विषय समेटिएका छन्। वास सेवा नियमन अन्तर्गत पानीको गुणस्तर, पानी वितरणको नियमन, खानेपानी सेवा प्रदायक संस्थाको नियमन तथा सेवा स्तरका मापदण्ड बारे जानकारी समावेश गरिएको छ।
पुस्तकको अन्तिम खण्डमा नेपाल खानेपानी संस्थान ऐन, २०४६, जलस्रोत ऐन, २०४९, खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०६३, खानेपानी तथा सरसफाइ ऐन, २०७९, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ लगायतका ऐन, नियम तथा नीतिहरू समेटिएका छन्। साथै राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० र खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन सम्बन्धी निर्देशिकालाई समेत समावेश गरिएको छ।
लोक सेवा आयोगका परीक्षार्थीका लागि उपयोगी
पुस्तक विशेष गरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्तर्गत स्यानिटरी उपसमूहको लिखित परीक्षालाई ध्यानमा राखेर तयार गरिएको हो। सिभिल इन्जिनियरिङका अन्य समूह तथा तहका परीक्षार्थीलाई पनि खानेपानी, सरसफाइ र वातावरण सम्बन्धी पाठ्यक्रमको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पुस्तकमा विषयगत अध्यायका अतिरिक्त प्रत्येक खण्डसँग सम्बन्धित नमुना प्रश्न तथा उत्तर, लोक सेवा आयोगका विगतका प्रश्नपत्र, हल गरिएका प्रश्नोत्तर र डिजाइन मापदण्ड सम्बन्धी परिशिष्ट समेत राखिएका छन्। डिजाइन अवधि, जनसङ्ख्या प्रक्षेपण, प्रतिव्यक्ति पानीको माग, पानीको क्षति, उच्चतम खपत गुणाङ्क, डिजाइन बहाव, पानीको स्रोतको उत्पादन क्षमताको मूल्याङ्कन जस्ता विषयलाई परिशिष्टमा समेटिएको छ।
लेखक श्रेष्ठले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक सहित खानेपानी तथा सरसफाइ क्षेत्रका विभिन्न आयोजना र निकायमा काम गरेको अनुभव हासिल गर्नुभएको छ। आयोजना योजना, डिजाइन, कार्यान्वयन तथा व्यवस्थापनमा प्राप्त उहाँको अनुभव पुस्तकमा समेटिएका प्राविधिक विषय, नेपाली सन्दर्भ र डिजाइन मापदण्डमा प्रतिबिम्बित भएको छ। उहाँका लोक सेवा आयोगको तयारी तथा अन्य प्राविधिक विषयसँग सम्बन्धित पुस्तकहरू पनि प्रकाशित छन्।
“नेपालको वास क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता बढिरहेको छ। आयोजना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन, त्यसको उपयुक्त डिजाइन, गुणस्तरीय निर्माण, प्रभावकारी सञ्चालन र दिगो व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यस पुस्तकले यी पक्षमा काम गर्ने इन्जिनियर तथा प्राविधिक जनशक्तिलाई आवश्यक सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरेको छु,” श्रेष्ठले बताउनुभयो।
नेपालले दिगो विकास लक्ष्य ६ अन्तर्गत सबैका लागि सुरक्षित खानेपानी तथा सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। सङ्घीय शासन व्यवस्थामा तीनै तहका सरकारको जिम्मेवारी बढ्दै गएको र स्थानीय तहमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण तथा व्यवस्थापनको काम विस्तार भइरहेको अवस्थामा दक्ष प्राविधिक जनशक्ति र सान्दर्भिक प्राविधिक ज्ञानको आवश्यकता पनि बढ्दो छ।
यस्तो अवस्थामा नेपाली सन्दर्भ, राष्ट्रिय मापदण्ड, प्राविधिक ज्ञान र कानुनी व्यवस्थालाई एकै ठाउँमा समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तकले खानेपानी तथा सरसफाइ क्षेत्रका इन्जिनियर, प्राविधिक जनशक्ति, विद्यार्थी र लोक सेवा आयोगका परीक्षार्थीका लागि उपयोगी सन्दर्भ सामग्रीको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


303 पटक हेरिएको 

