सुरक्षित खानेपानीका लागि बैतडीमा खानेपानी सुरक्षा योजना

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं १० मा सञ्चालित खानेपानी आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागु गरिएको छ । युनिसेफ नेपालको सहयोगमा पाटन नगरपालिकासँग मिलेर भुमेश्वर सामुदायिक विकास संघ खोड्पे वडा नं. १० को तिम्लाधार खानेपानी योजना सल्लेबासा, राजकोट खानेपानी योजना र मटे खानेपानी योजनामा खानेपानी सुरक्षा योजना लागु गरिएको हो । ती खानेपानी योजनाको मर्मत सम्भार समेत गरिने भएको छ । खानेपानी योजनाको मर्मत सम्भार र खानेपानी सुरक्षा योजनाका बिषयमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकाराीहरुलाई यस सम्बन्धी तालिम प्रदान गरिएको भुमेश्वर सामुदायिक विकास संघका कार्यक्रम संयोजक धर्म भट्टले जानकारी दिनुभयो ।

यसका साथै पाटन नगरपालिकाले एक घर एक धारा निर्माण अभियान समेत शुरु भएको छ । पुराना खानेपानी योजनाहरुलाई मर्मत गर्ने र खानेपानीको पहुँच नपुगेका ठाउँमा नयाँ योजना निर्माण गरेर आधारभूत खानेपानीको सुविधा उपलब्ध गराईने पाटन नगरपालिका, १० नं. वडाका अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिनुभयो । बर्षौ पुराना खानेपानी योजनाहरुलाई मर्मत सम्भार गरी सञ्चालन गर्ने बिषयमा उपभोक्ताहरुका लागि सचेतना कार्यक्रम समेत सञ्चालन गर्न सुरु गरिएको भुमेश्वर सामुदायिक विकास संघका कार्यक्रम संयोजक भट्टले जानकारी दिनुभयो ।

वडा नं १० का तीनवटा पुराना खानेपानी योजनाहरुलाई मर्मत गरी योजना क्षेत्र भित्रका नागरिकका घर घरमा धारा निर्माण गरिने उहाँले बताउनुभयो । यसका लागि युनिसेफ नेपालको समेत सहयोग रहेको कार्यक्रम संयोजक भट्टले जानकारी दिनुभयो । उपभोक्ता समितिका पदाधिकारीहरुलाई पूर्ण सरसफाइ र स्वच्छता सम्बन्धी तालिम समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास संघ खोड्पेले पाटन नगरपालिकासँग सहकार्य गरी एक घर एक धारा निर्माणका लागि पहल गरिरहेको भुमेश्वर सामुदायिक विकास संघका कार्यकारी निर्देशक मोहन ऐरले जानकारी दिनुभयो । सुरक्षित खानेपानी समुदाय निर्माण अभियान अन्तर्गत भुमेश्वर सामुदायिक विकास संघले काम गरिरहेको उहाँले बताउनुभयो । संघले बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा सुरक्षित पानीमा नागरिकको पहुँच बढाउन सहयोग गरिरहेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार