घोराहीले किन्न थाल्यो फोहोर, खाली बोटलले पैसा पाउन थालेपछि स्थानीय दङ्ग

दाङ : दाङको घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर किन्न थालेको छ । गल्ने फोहोरबाट ग्यास र मल उत्पादन गर्न घोरही उपमहानगरपालिकाले निजी फोहोर खरिद गर्न थालेको हो । यो वर्षदेखि उपमहानगरभित्रको फोहोर खरिद गर्ने नीति लिएपछि चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहोर खरिद गर्न शुरु गरेको हो। नगरपालिकाले नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । खाली बोटल, गुटखाका खोल र कार्टुनले समेत पैसा पाउन थालेपछि स्थानीय दङ्ग परेका छन् ।

उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो । त्यसअघि नगरपालिकाले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको थियो । फोहर व्यवस्थापन गर्न निक्कै समस्या हुँदै आएको र नगरपालिकाले किन्न थालेपछि निक्कै सहज भएको घोराही बसपार्कको जलजला होटलकी सञ्चालक सीता रोकाले बताउनुभयो ।

नगरपालिकाले फोहोर किन्न थालेपछि हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनुपर्ने झञ्झट हटेको उहाँले बताउनुभयो । पहिलो पटक फोहोर बेचेकी रोकाले बीस केजी फोहरको दुइ सय पाँच रुपैयाँ प्राप्त गर्नुभयो। होटलबाट उत्पादन भएको फोहोरले आम्दानी हुने भएपछि उहाँ औधी खुसी हुनुभएको छ ।

अहिलेसम्म झण्डै बीस हजारको फोहर खरीद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियान अन्तर्गत यो कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतल सहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रति किलो रु पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो रु दुइ, गत्ता, कापी सहित वर्गिकरण अनुसारका फोहोरलाई रु दश देखि बीस सम्म खरिद दर कायम गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार