धुलाबारी खानेपानीको ४५० घनमिटरको ट्याङ्की उद्घाटन, निर्धारित समय भन्दा ११ महिना अघि नै निर्माण सम्पन्न

  वास खबर सम्बाददाता  55 पटक हेरिएको
🔗
61
Shares

बिर्तामोड : झापाको मेचीनगर नगरपालिका–९, रेग्मी चोकमा निर्माण गरिएको धुलाबारी खानेपानी संस्थाको ४५० घनमिटर (४ लाख ५० हजार लिटर) क्षमताको नयाँ पानी ट्याङ्की उदघाटन गरिएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज एक कार्यक्रमबीच नवनिर्मित ट्याङ्कीको उदघाटन गर्नुभएको हो।

ट्याङ्की निर्माणसँगै धुलाबारी क्षेत्रका उपभोक्तालाई नियमित र स्वच्छ खानेपानी वितरणमा सहज हुने अपेक्षा गरिएको छ। खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि यो आयोजना महत्वपूर्ण उपलब्धि भएको शर्माले बताउनुभयो।

उदघाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै शर्माले आयोजना सफल बनाउन योगदान पुर्‍याउने धुलाबारी खानेपानी संस्थाको सञ्चालक समिति, कर्मचारी, राजनीतिक दल, नेपाल सरकारको संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगर तथा निर्माण व्यवसायीलाई बधाई दिनुभयो।

निर्माण सम्झौतामा तोकिएको ३० महिनाको अवधिभन्दा अगावै अर्थात् १९ महिनामै आयोजना सम्पन्न गर्ने ग्लोबल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट प्रालिका सञ्चालक पारस लामिछानेसहित निर्माण टोलीको उहाँले प्रशंसा गर्नुभयो।

शर्माले धुलाबारी क्षेत्रमा खानेपानी सेवा विस्तार र स्वच्छ पानी वितरणमा जापान सरकार तथा जापानी सहयोग नियोग (जाइका) को योगदान पनि स्मरण गर्नुभयो। जापान सरकारले धेरै वर्षअघि उपलब्ध गराएको खानेपानी परियोजना बाट हालसम्म पनि धुलाबारीका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न पाइरहेको उल्लेख गर्दै उहाँले जापान सरकार प्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष धनकाजी खत्रीले नयाँ आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताको स्वच्छ खानेपानीमा पहुँच थप सहज हुने बताउनुभयो। स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै उहाँले खानेपानीजस्तो संवेदनशील सेवाबाट कुनै पनि उपभोक्ता वञ्चित हुन नहुने धारणा राख्नुभयो।

अध्यक्ष खत्रीले आयोजना सफल बनाउन अहोरात्र खटिने सञ्चालक समिति, कर्मचारी, राजनीतिक दल, सचेत उपभोक्ता, निर्माण व्यवसायी तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व प्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हिमालय आङदाम्बेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव उमानाथ सुवेदी (उमेश) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

धुलाबारी खानेपानी संस्थाको उक्त आयोजना २०८२ साल असार २ गते शिलान्यास गरिएको थियो। निर्माणका लागि ३० महिनाको अवधि निर्धारण गरिए पनि निर्धारित समयभन्दा ११ महिनाअघि नै अर्थात् १९ महिनामै निर्माण सम्पन्न गरी उदघाटन गरिएको हो।

फोटो : रघु खतिवडा/प्राविधिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार