महानगरको फोहोर अझै एक साता नउठ्ने

काठमाडौ : काठमाडौँ उपत्यकाको सडक तथा चोक चोकमा थुप्रिएको फोहोर अझै एक साता नउठ्ने भएको छ । निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएकाले अझै एक साता काठमाडौको फोहोर व्यवस्थापनमा समस्या हुने महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताउनुभयो । केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

उपत्यकामा उत्सर्जित फोहोरमैला नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

‘अविरल वर्षाका कारण ल्याण्डफिल साइटमा करिब २ किलोमिटर सडक बिग्रिएको छ, जब वर्षा रोकिन्छ तब फाहोर संकलन सुचारु हुनेछ ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार अन्य दिन काठमाडौँबाट फोहोर बोकेर १ सय ५० वटा ट्रक सिसडोल जान्थे । तर अहिले दैनिक सय वटा मात्र गइरहेको छ । ‘मुस्किलले दिनमा सय वटा ट्रकले फोहोर लगिरहेका छन् यो क्रममा अझै ५ देखि ७ दिनसम्म लाग्न सक्छ’ उहाँले भन्नुभयो ।

उपत्यकाको दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गर्ने गरिएको छ । काठमाडौ महानगरपालिकाले सिसडोल ल्याण्डफिल साईटमा फोहोर विसर्जन गर्न समस्या भएकाले काठमाडौको फोहोर सडकमा ननिकाल्न सार्वजनिक आव्हान गरिसकेको छ । घर घरबाट सडकमा फोहोर निकाल्दा दुर्गन्ध फैलिने र विभिन्न संक्रामक रोगहरुको समेत जोखिम बढ्ने भएकाले घरमा उत्पादित फोहोरलाई घरमै व्यवस्थापन गरी सडकमा ननिकाल्न महानगरले आग्रह गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार