
काठमाडौं : ‘कोरोना सोचे झैं रहेनछ…. सोचे झैं रहेनछ ……….’ गायक खेम सेञ्चुरीले गाउनुभएको गीतमा कोरोनाको मस्कट लगाएका दुई जना हाउभाउ सहित नाचिरहेका थिए । सडक पेटीबाट हतारिएर हिडिरहेका मानिसहरु समेत एकैछिन पाइला रोकेर मस्कट तिरै हेरिरहेका थिए । कोटेश्वर चोकमा बिहानै यो दृश्य देख्ने जो कोही एक छिन उभिन्थे र पाइला अगाडि बढाएपनि मुन्टो पछिल्तिर फर्काएर हेरेकै हुन्थे ।

गीतको शब्दसँग हाउभाउ मिलाएर नाचिरहेका मस्कटको छेउछाउमा लहरै उभिएका थिए स्वयंसेवकहरु । हरेक स्वयंसेवकले मास्कको महत्वबारे जानकारी दिलाउने प्लेकार्डहरु बोकेका थिए । प्लेकार्डमा ‘कोरोना संक्रमबाट बच्ने एउटा विकल्प मास्क पनि हो’ ‘आफ्नो दायित्व पूरा गरौं, मास्क लगाऔं, सुरक्षित रहौं’ ‘चिउँडोको मास्कले कोरोना रोक्दैन’ ‘मास्क लगाएर पनि फोटो राम्रो आउँछ’ ‘आफूले प्रयोग गरेको मास्क अरुलाई दिने वा साट्ने नगरौं’ जस्ता सन्देशहरु लेखिएका थिए ।
सँगै राखिएको स्पिकरमा घरी घरी कोरोना सचेतना सम्बन्धी गीत बजिरहेका हुन्थे भने घरी घरी कोरोना रोकथामका लागि मास्कको प्रयोग गर्ने सही तरिका र मास्कको व्यवस्थापन बारे पनि जानकारी गराईरहेको हुन्थ्यो ।

करिब १५ जनाको संख्यामा परिचालित स्वयंसेवकहरु मध्येका कोही भने कोरोना संक्रमणबाट बच्न मास्कको महत्वबारे लेखिएका स्टिकरहरु गाडीमा टाँसिरहेका थिए । अनि कोही भने सडकमा मास्क बिनै हिडिरहेकाहरुलाई मास्क वितरण गरी लगाउने तरिका बारे पनि जानकारी गराईरहेका थिए ।
त्यत्तिकैमा मास्क बिनै कोटेश्वरबाट जडिबुटी तर्फ लखर लखर हिडिरहेका जनकपुरका किशोर साह माथि नेपाल मास्कको स्वयंसेवीको नजर प¥यो । तत्काल मास्क निकालेर साहको हातमा थमाउँदै स्वयंसेवकले भने ‘तपाई कहिल्यै मास्क बिना हिड्डुल नगर्नुस् है, मास्क लगाउनुपर्छ भन्ने थाहा छ कि छैन ?’ साहले हाँस्दै भन्नुभयो ‘डोरी चुँडिएर लगाउनै नमिल्ने भएको छ, नयाँ दिनुभयो धन्यबाद ।’

मास्कबारे सचेतना फैलाउन ‘नेपाल मास्क’ का स्वयंसेवकहरुले गरिरहेको क्रियाकलाप हेरिरहेकाहरु पनि आफूले सही तरिकाले मास्क लगाएँ नलगाएको परिक्षण गरिरहेका थिए । नाक भन्दा तलतिर झरेका मास्कलाई मिलाउँदै गरेका, मुख राम्रो सँग नछोपी लगाएकाहरुले समेत तानेर मिलाईरहेका थिए ।
नेपाल मास्क : कोभिड – १९ प्रतिकार्य परियोजनाले मास्कको सही प्रयोगबारे जानकारी गराउने उद्देश्यले कोटेश्वरमा उक्त कार्यक्रम गरिएको हो । कोभिड संक्रमणबाट बच्न मास्कलाई सही तरिकाले प्रयोग गर्ने र सधैं प्रयोग गर्ने जानकारी प्रदान गर्न यस्तो विधि अपनाईएको सुपरभाइजर रक्की तुल्सीबाख्याले बताउनुभयो । कोरोनाको संक्रमण दर अलि कम भएसँगै मानिसहरुले मास्क लगाउन समेत छाडेको पाइएको उहाँले बताउनुभयो । ‘खासगरी सडक पेटीमा सामान विक्री गर्ने, सडकमा हिड्डुल गर्नेहरुमा यस्तो देखियो, हामीले बसमा यात्रा गर्ने, बसका सहचालक तथा पैदल यात्रुहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्यौं’ उहाँले भन्नुभयो ।

यस्तै अभियान कलंकी र नयाँ बसपार्कमा समेत सञ्चालन हुनेछ । कोरोना रोकथामका तीनवटा उपायहरु मध्ये मास्कको उचित प्रयोग एक प्रभावकारी माध्यम भएकाले मास्कको प्रयोगमा जोड दिईएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सिनियर वास अफिसर सिर्जना कार्कीले बताउनुभयो । ‘दशैं मनाउन शहरबाट गाउँ जाँदैछन्, के थाहा ? कोरोना पो बोकेर गाउँ जाँदैछौं कि ? त्यसैले पहिलो कुरा आफू जोगिन र आफूलाई कोरोना भईहाले अरुलाई पनि जोगाउन मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेपाल मास्क : कोभिड १९ प्रतिकार्य परियोजनाल बिल र मेलिन्डा गेट्स फाउण्डेशन (BMGF) को आर्थिक सहयोगमा येल विश्वविद्यालय, इनोभेटिभ पोबर्टी एक्सन (आईपीए), नेपालमा CCMC, Mayors Forum, नगरपालिका र गाउँपालिका संघ र काठमाडौ महानगरपालिकाको सहकार्यमा C-19 RAT द्वारा कार्यान्वय भईरहेको छ ।
कोभिड – १९ बिरुद्धका खोपहरु आइसकेका छन् । तर सबै जनतामा खोपको पहुँच निक्कै समय लाग्न सक्छ । यसर्थ महामारीको जोखिम कायमै रहेकाले रोकथामका उपायहरुमा सजगता अपनाउन आवश्यक छ ।







1688 पटक हेरिएको 

