पाल्पा : फोहोरमैला व्यवस्थापन बारे सचेतना जगाउन पाल्पाको तानसेनमा ‘प्लगिङ म्याराथन’ प्रतियोगिता गरिएको छ । प्लास्टिकको प्रयोगमा न्यूनीकरण र वातावरणीय प्रदूषण कम गर्न म्याराथनका सहभागीले तानसेन बजार क्षेत्रको ४ किलोमिटर दूरी दौडिनुका साथै प्लास्टिक, मास्क र अन्य फोहोर संकलन गरेका थिए ।
जिल्लाका १९ विद्यालयका ५७ जना म्याराथनमा सहभागी भएका थिए । उनीहरूले तोकिएको सडकमा दौडिनुका साथै किनारमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरेको आयोजक क्लबका कार्यकारी अध्यक्ष अभिषेक शाहले बताउनुभयो । सहभागीहरुले दौडका क्रममा ८० किलो फोहोर संकलन गरेको उहाँले बताउनुभयो ।
दौड पूरा गर्न लागेको समय र त्यस समयमा जम्मा भएको फोहोरको भारलाई आधार बनाई उत्कृष्ट छनोट गरिएको थियो । म्याराथनमा तानसेनको सेन माविका विशाल थापा पहिलो, सरस्वती मावि सुन्दर गाउँकी अमृता चिदी दोस्रो र सेन माविकै कृष्णा खड्कीले तेस्रो स्थान हासिल गर्नुभयो । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लब अफ पाल्पा लुम्बिनीको समन्वयमा पहिलो पटक फरक ढंगको म्याराथन आयोजना गरिएको हो ।