दमक नगरपालिकाले आउँदो महिनादेखि फोहोरबाट ग्यास उत्पादन गर्ने

झापा : झापाको दमक नगरपालिकाले आउँदो महिनादेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन गर्नेभएको छ। नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्याँस र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न लागेको हो।

कुहिने फोहोरलाई प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरबाट ऊर्जा अन्तर्गत ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने भएको हो । यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ। ‘फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ’ उहाँले भन्नुभयो ।

नगरपालिका भित्र उत्पादन हुने फोहोरलाई संकलन गरेर सबैभन्दा पहिले फोहोर बर्गीकरण गरिन्छ । अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक (कुहिने) फोहोर छुट्याएपछि जैविक फोहोरलाई ठूलो ट्यांकीमा हालेर १५ दिन सम्म कुहाइन्छ। यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप वा सिलिण्डर मार्फत वितरण नेक्स्ट इरा इनर्जी प्रालि ले जनाएको छ । बाँकी कुहिएको फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ भने जमेको तरल पदार्थबाट झोल प्राङ्गारिक मल उत्पादन हुनेछ ।

संरचना निर्माणमा कुल २० करोड ५८ लाख ९७ हजार रूपैयाँ लागत रहेको छ। यसमा लागत सहभागिता १४ करोड ७० लाख रूपैयाँ बढी नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी पाँच करोड आठ लाख रूपैयाँ बढी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रहेको जनाइएको छ। जेभीले २०७७ माघ १० गते सम्झौता गरेको थियो।

दमक क्षेत्रमा दैनिक जसो २० टन फोहोर उत्पादन हुने गरेको छ भने १५ टन फोहोर संकलन हुँदै आएको छ। जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहोर रहने गरेको छ। कागज तथा कागजजन्य ६ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य पाँच दशमलव ३७ प्रतिशत फोहोर निस्किने गरेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार