दाङ : दाङको घोरही उपमहानगरपालिका १७ करौती डाँडामा कुहिने (जैविक) फोहोरबाट ग्याँस उत्पादन गर्न थालेको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन गर्न थालिएको हो । ग्यास उत्पादन प्लान्टको घोरही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले हालै उदघाटन गर्नुभयो ।
उत्पादन गरिएको ग्याँस पाइप मार्फत घोराही उपमहानगरपालिका १० को नारायणपुर र वडा १६ को सर्रा क्षेत्रमा वितरण गरिनेछ । उत्पादित ग्याँस प्रारम्भिक चरणमा सात सय ५० घरधुरीमा पाइपलाइन मार्फत घर–घरमा पुर्याइने बताइएको छ । संरचनाको क्षमता भने १५ सय घरघुरीमा बायोग्याँस पठाउने रहेको छ । केन्द्रका शाखा प्रबन्धक हरिशरण श्रेष्ठका अनुसार पाइपलाइन बिस्तारको काम सकिए लगत्तै परीक्षणका रुपमा एक सय ५० घरधुरीमा आगामी वैशाख महिना भित्रै पाइपलाइन मार्फत ग्याँस जडान गरिनेछ ।
नगरप्रमुख चौधरीले निर्वाचित हुँदादेखि नै बजार क्षेत्रमा सड्ने फोहोर व्यवस्थापनका बारेमा बनाएको योजनाले सार्थकता पाएको बताउनुभयो । निर्माण गरिएको संरचनाबाट २० वर्षसम्म नेपाल उर्जा विकास कम्पनी प्रालि मार्फत सञ्चालन हुने बताइएको छ । त्यसपछि उक्त संरचना उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । २० वर्षसम्म आम्दानीको पाँच प्रतिशत रकम पालिकालाई उपलब्ध गराइने सम्झौता गरिएको छ ।
प्रशोधन केन्द्रमा ग्याँस उत्पादनका लागि दैनिक २५ टन जैविक फोहोर आवश्यक पर्ने भए तापनि अहिले घोरही उपमहानगरपालिका भित्रबाट दैनिक सात सय किलो जैविक फोहोर उत्पादन हुने गरेको उपमहानगरपालिकाले जनाएको छ ।
करिब २४ करोड रुपैयाँ लागतमा निर्माण भएको बायोग्याँस प्लान्टका लागि संघीय सरकारबाट ४० प्रतिशत अनुदान र नेपाल उर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानी रहेको छ । ग्याँस उत्पादनका लागि २०७४ बाट प्रक्रिया सुरु गरिएको थियो । २०७७ सालबाट उद्योग स्थापना गरेर संरचना निर्माणको काम सुरु भएको थियो ।