फोहोर व्यवस्थापन गर्न काठमाडौले धरानबाट सिक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ

फोहोरबाट निकालिएको ग्याँसबाट साना सवारी साधन सञ्चालन गर्न निर्देशन

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको आरम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारी साधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेको देखें  त्यसले टेम्पो जस्ता साना सवारी साधनहरु चलाउन व्यवस्थापन गरेको देखेँ मैले । त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ ।’

उहाँले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउनु भयो । सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताउनुभयो ।

‘यो काम नेपाल आफैँले गर्नसक्छ । विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन् । काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइटमा पठाउने भन्दा पनि ट्रिटमेण्ट गरेर यसबाट फाइदा लिऔँ ।’ उहाँले फोहोरको उचित व्यवस्थापन गर्नसके मात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार