काठमाडौ : शुक्रबार बालेन्द्र साह जब मेयरमा निर्वाचित भएको घोषणा भयो, उहाँ केही समय धन्यवाद र्यालीमा सहभागी भएर सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल साईट पुग्नुभयो । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि काठमाडौबाट गएका गाडीलाई स्थानीयबासीले ठाउँ ठाउँमा अवरोध पुर्याएका थिए । ती अवरोधहरु छिचोल्दै मेयर बालेन साह डम्पिङ साइटमा पुगेरै छाड्नुभयो ।
उहाँले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र मागको बारेमा पनि छलफल गर्नुभयो । स्थानीयबासीले पनि मेयर बालेनलाई आफ्ना मागहरुबारे बताए ।
गत मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास सुरु भएको थियो । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।काठमाडौंमा करिब ३ महिनादेखि नियमित रुपमा फोहोर उठ्न सकेको छैन ।
उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।
स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयबासीले भने आन्दोलन रोकेका छैनन् ।
सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ(जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीयबासीले फोहोरका गाडी फेरि रोक्न सक्ने अवस्था रहेकाले दीर्घकालीन रुपमै स्थानीयको माग सम्बोधन गरेर समाधान निकाल्नुपर्ने पक्षमा महानगरपालिका छ । स्थानीयबासी भने सडकको अवस्था समेत सुधार नगरी फोहोर फाल्न सुरु गर्नु अन्यापूर्ण भएको तर्क गरिरहेका छन् ।