बञ्चरेडाँडामा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं : बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

काठमाडौ महानगरपालिकाले सम्झौता अनुसार काम नगरेको र उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले सधैंका लागि फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो ।

समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उहाँले बताउनुभयो ।

मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने
सरकारसँग विकल्प रहेको उहाँको भनाइ छ ।

बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेर गएका गाडीलाई आज पनि रोकेका छन् । यस अघि महानगरपालिका आफैले बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्दै आएको सिसडोल ल्यान्डफिल साइट बन्द गरी पहिलो पटक गत जेठ १० गते प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको सेल १ मा फोहोर विसर्जन गर्न सुरु गरिएको थियो । २ वर्षका लागि भन्दै २०६२ जेठ २२ गतेदेखि सिसडोलमा उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार