कम्पनीलाई व्यवस्थापन गर्न दिएको नगरपालिकाको फोहोर किसानको खेतबारीमा

🔗
57
Shares

उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिकाले फालेको फोहोर उर्लाबारी–८ का किसानको खेतबारीसम्म पुग्ने गरेको छ। नगरले फोहोर व्यवस्थापनको जिम्मा जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई दिएको छ। प्रालिले बक्राहा खोला किनारको झुम्रामा फोहोर विसर्जन गरेपछि सोही फोहोर बक्राहा खोलाले बगाएर किसानका खेतबारीका गरासम्म पुर्‍याएको छ।

सो फोहरले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारीमा पर्ने बक्राहा खोलासमेत प्रदूषित भएको छ। राजमार्गसँगै जोडिएको बक्राहाघाटमा सिसाका टुक्रा, खाली बोतल, प्लास्टिकजन्य फोहोर, अस्पतालजन्य फोहोर तैरिरहेको देख्न सकिन्छ। चार वर्षअघिदेखि विसर्जन भएका फोहोर केही पूर्वको झुम्रा खोला र बक्राहामा हालेको स्थानीयवासीको आरोप छ।

खोलामा फोहोर हालेपछि बक्राहा खोलाको पानीले खेती गर्ने किसान सबैभन्दा मर्कामा परेका छन्। उर्लाबारी–८ को खैदुगसरा (खैरेनी, दुर्गापुरी, गगटे, सखुवानी, रातेहोली) सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद निरौलाले भन्नुभयो, “धान गोड्ने बेला भयो। खेतमा पस्न सकिने अवस्था छैन। बोतल, प्लास्टिकका टुक्रा, सिसाका टुक्रा, अस्पतालजन्य फोहर खेतका गरागरामा पुगेको छ। खोलामा फोहोर मिसाइदिएपछि हामीले नगरपालिकासँग गुनासो गर्‍यौँ तर सुनुवाइ भएको छैन। अब ‘डेलिगेसन’ जान्छौँ।”

बक्राहाको पानीले उर्लाबारीको १५ सय हेक्टर जमिन सिँचाइ हुने गरेको छ। खोला लाग्ने सबैतिर समस्या उस्तै छ। निरौलाले नहरको हेडवक्र्समा फोहोरको चाङ लागेको बताउँदै सफा गर्ने क्रममा सिसाको टुक्राले काटेर सफाइकर्मी घाइते भएको बताउनुभयो। “हेडवर्क्स सानो छ, साना–साना फोहोर सबै खेतमा पुर्‍याउने गरेको छ,” अर्का उपभोक्ता तेजनाथ भट्टराईले भन्नुभयो।

नगरको फोहोर व्यवस्थापनको जिम्मा जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिका सञ्चालक नेत्र घिमिरेले भने प्राकृतिक प्रकोपका कारण फोहोर खोलामा पसेको बताउनुभयो। “यो भवितव्य हो, सुनियोजित होइन। मैले आफ्नो निजी खेतमा लगेर फोहोर व्यवस्थापन गर्ने गरेको छु,” उहाँले भन्नुभयो।

२०७५ सालभन्दा अघि नगरपालिकाले उर्लाबारी–३ स्थित आफ्नै जमिनमा फोहोर डम्पिङ गर्थ्यो तर बक्राहा खोलाको धारले उक्त जग्गा कटान गरेपछि नगरले जयश्री पाथीभरालाई २०७५ साल चैत २१ गतेदेखि फोहोर व्यवस्थापनको जिम्मा दिएको हो। नगरपालिकाका दुईवटा ट्याक्टरले दैनिक आठ/दस ट्याक्टर फोहोर बक्राहा खोलाको किनारमा डम्पिङ गर्दै आएका छन्।

प्रालिले दुई बिघा जग्गामा फोहोर विसर्जनका लागि व्यवस्था गरेको सञ्चालक नेत्र घिमिरेले जानकारी दिनुभयो। उता नगरपालिकाका सूचना अधिकृत भरत अधिकारीले नगरले जयश्री पाथीभरासँग पाँच वर्षका लागि फोहोर व्यवस्थापनको सम्झौता गरेको बताउनुभयो। उहाँका अनुसार आगामी २०८० चैत २० मा सम्झौता सकिन्छ। नगरपालिकासँग भएका दुईवटा ट्याक्टर जयश्री पाथीभराले भाडामा लिएको छ।

सेवाग्राहीसँग सङ्कलन भएको रकमको १० प्रतिशत रकम नगरपालिकालाई जम्मा गर्ने सर्तमा कम्पनीले फोहोर व्यवस्थापनको ठेक्का पाएको जिन्सी शाखा प्रमुख नगेन्द्रप्रसाद तिम्सिनाले जानकारी दिनुभयो तर फोहोरमैला व्यवस्थापनबाट वार्षिक कति रकम आम्दानी हुन्छ, उहाँसँग कुनै जानकारी छैन। गोरखापत्र दैनिकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार