
काठमाडौ : फोहोरको स्रोतमै वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । साउन १ गते देखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने महानगरपालिकाको घोषणा थियो । शहरी सुन्दरताका लागि एक पछि अर्को घोषणा गर्दै आएको महानगरपालिकाले यो योजना कार्यान्वयनका लागि कुनै प्रयास भएको पाईदैन ।
सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर वर्गीकरण गरेर उठाउन चासो दिएको छैन ।
महानगरपालिकाको फोहोर छुट्याएर नराख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो । ‘फोहोर संकलनका क्रममा फोहोरको बर्गीकरण गरेको नपाइए हरेक पटक जरिवाना गरिनेछ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको हो,’ ९ असार जारी सूचनामा भनिएको थियो । महानगरले आइतबार र बुधबार नकुहिने फोहोर संकलन गर्ने तालिका बनाएको थियो । सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका दिइएको थियो ।
सूचना अनुसार धैरै महानगरबासीले फोहोर छुट्याउन सुरु गरिसकेको भएपनि महानगरले तालिका बमोजिम फोहोर नउठाएपछि अहिले फोहोर छुट्याउन सुरु गरेकाहरुले पनि मिसाएरै फोहोर दिन थालेका छन् ।
नियमित रुपमै फोहोर उठाउन सकस भएपछि महानगरले स्रोतमै फोहोर वर्गीकरण गराउने अभियानमा चासो दिएको छैन । अतिक्रमित संरचना हटाउन जोडबल गरिरहेको महानगरले फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको बताए पनि फिल्डमा त्यसअनुरुपको पहलकदमी भएको देखिदैन।
अहिले नियमित रुपमा फोहोर उठे पनि स्रोतमा वर्गीकरण नभएकाले मिश्रित फोहोर नै बञ्चरेडाँडामा पुगेको छ । ७ वटा वडाको केही स्थानमा मात्रै वर्गीकरण गरेर फोहोर संकलन हुने गरेको काठमाडौं महानगरपालिकाको वातावारण विभागले जनाएको छ ।
मेयर बालेन्द्र साह (बालेन) आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक र्याली र कार्यक्रमहरुमा सहभागी हुनु भएको थियो । मेयर बालेन सहित वडाध्यक्षहरुको टोलीले टोल-टोलमा गएर कुहिने फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरले अनुरोध गरेको थियो ।


519 पटक हेरिएको 

