झुम्का सहरी खानेपानी आयोजनाको खानेपानीमन्त्री यादवद्वारा उदघाटन

२२ हजार ७८७ नागरिक प्रत्यक्ष लाभान्वित

  वास खबर सम्बाददाता  820 पटक हेरिएको
🔗
100
Shares

इटहरी : खानेपानीमन्त्री प्रदीप यादवले “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन गर्नु भएको छ । रामधुनी नगरपालिकाको वडा नं. १, २, ३, र ५ का २२ हजार ७८७ नागरिक प्रत्यक्ष लाभान्वित हुने खानेपानीको मन्त्री यादवले शनिबार उदघाटन गर्नुभयो।

उदघाटन कार्यक्रममा मन्त्री यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनु भएको छ ।मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।

यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउनु हुँदै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताउनुभयो ।

खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने सेवा–उन्मुख सामाजिक मन्त्रालय रहेकाले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिसत उपलब्धि हासिल गरेको छ । जुन हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो ।”

आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नं. १, २, ३, र ५ का करिब २२ हजार ७८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो खानेपानी आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता मार्फत नागरिकहरूको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा पुर्व सघीय सांसद नवदिता चौधरी, नगर प्रमुख शंकर लाल चौधरी, झुम्का खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, नगर उप–प्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थान विभागका उप महानिर्देशक राजेन्द्र सापकोटा, एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उप–निर्देशक महेश न्यौपाने, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर प्रमुख सुरतलाल चौधरी लगायतको सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार