
काठमाडौँ : खानेपानी व्यवस्थापनमा प्रयोग हुने मिटरहरूको शुद्धता सुनिश्चित गर्न राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रमा मिटर क्यालिब्रेसन युनिट स्थापना गरिएको छ। यो युनिट Japan International Cooperation Agency (जाइका) नेपालको सहयोगमा स्थापना गरिएको हो।
केन्द्रका कार्यकारी निर्देशक ई.रामकुमार श्रेष्ठले मिटर क्यालिब्रेसन युनिट सञ्चालनमा आएपछि खानेपानी वितरण प्रणालीमा प्रयोग हुने मिटरहरूको परीक्षण र प्रमाणिकरण स्वदेशमै गर्न सकिने बताउनुभयो।
उहाँका अनुसार यसअघि पानी मिटरहरूको शुद्धता जाँच्ने व्यवस्थित प्रयोगशाला तथा प्राविधिक संरचना सीमित रहेकाले धेरै संस्थाहरूले मिटर परीक्षणका लागि आवश्यक सेवा सहज रूपमा पाउन सकेका थिएनन्। “अब केन्द्रमा स्थापना गरिएको मिटर क्यालिब्रेसन युनिट मार्फत पानी मिटरको शुद्धता परीक्षण, क्यालिब्रेसन तथा प्राविधिक परामर्श सेवा उपलब्ध हुनेछ,” कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो।
क्यालिब्रेसन (Calibration) भनेको कुनै मापन गर्ने उपकरणले देखाएको मान कति सही छ भनेर जाँच गर्ने र आवश्यक परे मिलाउने प्रक्रिया हो।यदि पानी मिटरले १०० लिटर पानी प्रयोग भएको देखायो भने, वास्तवमै १०० लिटर नै बगेको हो कि ९० वा ११० लिटर हो भनेर परीक्षण गरिन्छ।यदि फरक देखियो भने मिटर समायोजन गरिन्छ। यसरी सही बनाउने प्रक्रियालाई क्यालिब्रेसन भनिन्छ।
उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “यस युनिटले खानेपानी सेवा प्रदायक संस्था, स्थानीय तह तथा सम्बन्धित निकायहरूलाई मिटरको सही मापन सुनिश्चित गर्न सहयोग पुर्याउनेछ। यसले खानेपानी व्यवस्थापनलाई पारदर्शी र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ।”
केन्द्रका अनुसार मिटर क्यालिब्रेसन प्रणालीले पानीको वास्तविक खपत मापनलाई अझ वैज्ञानिक र भरपर्दो बनाउन मद्दत गर्नेछ। यसबाट खानेपानी सेवा प्रदायक संस्थाहरूलाई राजस्व व्यवस्थापन सुधार गर्न, चुहावट तथा अनियमितता घटाउन र सेवा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
जाइका नेपालको सहयोगमा स्थापना गरिएको यो युनिटले आगामी दिनमा खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, प्राविधिक क्षमता अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।


621 पटक हेरिएको 

