काठमाडौ : विश्व वातावरण दिवसको अवसर पारेर ललितपुरस्थित कोड्कु फोहोरपानी प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वातावरण संरक्षण, हरित क्षेत्र विस्तार तथा जलस्रोतको दिगो व्यवस्थापनमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठको नेतृत्वमा कर्मचारीहरूको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा प्रशोधन केन्द्र परिसरलाई थप हराभरा र वातावरणमैत्री बनाउने लक्ष्यका साथ फलफूल तथा छायाँ प्रदान गर्ने विभिन्न प्रजातिका बिरुवा रोपिएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजना प्रमुख ई श्रेष्ठले वातावरण संरक्षण केवल एक दिन मनाउने विषय नभई सबैको साझा दायित्व भएको बताउनुभयो ।
उहाँले फोहोरपानी प्रशोधन केन्द्र जस्ता पूर्वाधारहरूलाई वातावरणीय दृष्टिले अझ प्रभावकारी र हरित बनाउन वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन बढिरहेका छन् । यस्ता अवस्थामा वृक्षारोपण जस्ता सकारात्मक अभियानले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ,” उहाँले भन्नुभयो, “हामीले रोपेका बिरुवाको संरक्षण र दीर्घकालीन व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ ।”
कार्यक्रममा सहभागी कर्मचारीहरूले वृक्षारोपणसँगै वातावरण संरक्षणका विषयमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उहाँहरूले हरित वातावरण निर्माणका लागि संस्थागत तथा व्यक्तिगत स्तरबाट निरन्तर पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कोड्कु फोहोरपानी प्रशोधन केन्द्र काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहोरपानीको प्रशोधन गरी वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रशोधन केन्द्र परिसरमा हरियाली विस्तार गरिँदा वातावरणीय सौन्दर्य वृद्धि हुनुका साथै जैविक विविधता संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने प्रमुख एवं ई श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा विभिन्न जनचेतनामूलक कार्यक्रम, वृक्षारोपण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि आयोजना गरी मनाइने गरिन्छ ।
यस वर्ष पनि नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले वातावरण संरक्षणका विविध कार्यक्रम सञ्चालन गरेका छन् ।

कोड्कु फोहोरपानी प्रशोधन केन्द्रमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति संस्थागत प्रतिबद्धता झल्काउनुका साथै आगामी दिनमा हरित र स्वच्छ वातावरण निर्माणका अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।


357 पटक हेरिएको 

