खानेपानी चुहावट नियन्त्रण र मर्मत सम्भारलाई तीव्र बनाउन तोक्यो फोकल पर्सन

सम्बन्धित निकाय बीच समन्वय गर्न चार कर्मचारीलाई जिम्मेवारी

  वास खबर समाचारदाता  268 पटक हेरिएको
🔗
467
Shares

काठमाडौं : काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीमा देखिने चुहावट तथा अन्य प्राविधिक समस्या समयमै समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) को आयोजना कार्यान्वयन निर्देशनालयले चार जना कर्मचारीलाई फोकल पर्सन तोकेको छ।

खानेपानी वितरणका क्रममा पाइपलाइनमा चुहावट हुने, पाइप फुट्ने तथा प्रणालीमा अन्य प्राविधिक समस्या देखिने अवस्थामा तत्काल मर्मत सम्भार गर्न र खानेपानी सेवामा हुन सक्ने अवरोधलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्देशनालयले यो व्यवस्था गरेको हो।

निर्देशनालयका आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार तोकिएका फोकल पर्सनले खानेपानी वितरण प्रणालीमा समस्या देखिँदा आवश्यक मर्मत सम्भारको काम अघि बढाउन तथा सम्बन्धित निकायसँग समन्वय गर्न सहजीकरण गर्नेछन्।

निर्देशनालयले आयोजना उपनिर्देशक उज्वल श्रेष्ठ, आयोजना प्रबन्धक अमित रञ्जित, इन्जिनियर शंकर थापा र सवारी चालक दिलिप कुमार श्रेष्ठलाई फोकल पर्सन तोकेको हो।

खानेपानी वितरण प्रणालीमा देखिने समस्या समाधानका लागि विभिन्न निकाय बीच समन्वय आवश्यक पर्ने भएकाले फोकल पर्सन तोकिए पछि मर्मत सम्भारको कामलाई व्यवस्थित र छरितो बनाउन सहयोग पुग्ने आयोजना निर्देशक श्रेष्ठले बताउनुभयो।

यसबाट चुहावट नियन्त्रण, प्राविधिक समस्या समाधानमा हुने ढिलाइ न्यूनीकरण तथा उपभोक्तालाई नियमित खानेपानी सेवा उपलब्ध गराउने प्रयासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

खानेपानीको सीमित स्रोतको संरक्षण र उपलब्ध पानीको प्रभावकारी वितरणका लागि चुहावट नियन्त्रण महत्वपूर्ण हुन्छ। त्यसैले समस्या देखिएपछि तत्काल पहिचान, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र समयमै मर्मत सम्भार गर्न यो व्यवस्थाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार