जाइकाको २ अर्ब ५४ करोड अनुदानमा निर्माणाधीन खानेपानी आयोजना अन्तिम चरणमा

दैनिक खानेपानी वितरण क्षमता एक करोड लिटरभन्दा बढी पुग्ने

🔗
260
Shares

विराटनगर  : विराटनगरवासीलाई सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको र विद्युत् जडान लगायत केही प्राविधिक काम मात्र बाँकी रहेको नेपाल खानेपानी संस्थानले जनाएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले देवकोटा चोकस्थित नेपाल खानेपानी संस्थानको परिसरमा निर्माणाधीन संरचनाको निरीक्षणका क्रममा नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता पूरा हुने चरणमा पुगेको बताउनुभयो। निर्माण सम्पन्न भई आयोजना सञ्चालनको तयारीमा पुग्नु खुसीको विषय भएको उहाँको भनाइ थियो।

जाइकाले विराटनगरमा आयोजना सञ्चालन गर्न स्वीकृति दिए पनि जग्गा व्यवस्थापन, सडक तथा विद्युत् जडान लगायतका समस्याले निर्माण कार्य अघि बढाउन चुनौती सिर्जना गरेका थिए। ती समस्या समाधान गर्न महानगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेपछि निर्माण कार्यले गति लिएको जनाइएको छ।

निरीक्षणका क्रममा आयोजनाका प्राविधिकहरूले पानी उत्पादन, प्रशोधन, छान्ने प्रणाली तथा वितरण संरचनाबारे मेयर कोइरालालाई जानकारी गराएका थिए।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार आयोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको छ। अहिले विद्युत् जडान लगायतका केही प्राविधिक काम भइरहेका छन्। ती काम पूरा भएपछि नयाँ प्रणालीबाट खानेपानी वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो।

आयोजना निर्माणको अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो। निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाइएको हो। संस्थानले बाँकी प्राविधिक काम पूरा गरी दसैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। आगामी बिहीबार जाइकाले आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

दैनिक खानेपानी उत्पादन तथा वितरण क्षमता बढ्ने

नयाँ प्रणाली सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ। हाल दैनिक करिब ९० लाख लिटर खानेपानी वितरण हुँदै आएकोमा आयोजना सञ्चालनपछि एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ।

आयोजना अन्तर्गत खानेपानी उत्पादन, प्रशोधन तथा वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ। पुराना संरचनाको सुधारसँगै नयाँ पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार र विद्युत् आपूर्ति क्षमतामा समेत वृद्धि गरिएको छ।

विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। पाइपलाइन र पानी प्रशोधन तथा छान्ने प्रणालीको क्षमता विस्तार भएपछि वितरणमा देखिँदै आएका समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय खानेपानी पाउने संस्थानको अपेक्षा छ।

हाल नेपाल खानेपानी संस्थान विराटनगरका करिब १३ हजार २०० ग्राहक छन्। नयाँ आयोजनाले खानेपानीको उपलब्धता र वितरण प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

सुरक्षित खानेपानीको पहुँच बढ्ने अपेक्षा

विराटनगरमा विगतमा अशुद्ध खानेपानीका कारण जन्डिस फैलिँदा १४ जनाको मृत्युसमेत भएको थियो। यस पृष्ठभूमिमा नयाँ आयोजनाले खानेपानीको उत्पादन र वितरण क्षमता बढाउनुका साथै प्रशोधन प्रणालीलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजना सञ्चालनमा आएपछि सुरक्षित खानेपानीको उपलब्धता बढ्ने, वितरण प्रणालीमा देखिँदै आएका समस्या कम हुने र उपभोक्ताले नियमित रूपमा गुणस्तरीय पानी प्राप्त गर्ने विश्वास गरिएको छ।

यद्यपि, आयोजनाको निर्माण सम्पन्न हुनुका साथै प्रशोधन प्रणालीको प्रभावकारी सञ्चालन, पानीको नियमित गुणस्तर परीक्षण र वितरण व्यवस्थापन पनि सुरक्षित खानेपानी सुनिश्चित गर्न उत्तिकै महत्त्वपूर्ण हुनेछन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार