
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१०, अल्हावलस्थित पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको गुणस्तर सुधार र सेवा विस्तारलाई प्राथमिकता दिएको छ। संस्थाको १६औँ वार्षिक साधारण सभामा सहभागी सरोकारवालाहरूले उपभोक्तालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन पाइपलाइन विस्तार, पानी परीक्षण र प्रभावकारी व्यवस्थापनमा जोड दिएका छन्।
साधारण सभालाई सम्बोधन गर्दै संघीय सांसद विक्रम खनालले शुद्ध खानेपानी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको गुणस्तर र उपलब्धतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बर्दघाट नगरपालिकाका नगरप्रमुख तथा संस्थाका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले स्थानीय ५३ जना उपभोक्ताको पहलबाट स्थापना भएको संस्थाले खानेपानी वितरणमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले नगरपालिकाको ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन पाइपलाइन विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुहानदेखि उपभोक्ताको मुखसम्म पुग्ने पानीको गुणस्तर सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उहाँले नगरपालिकाले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँगको समन्वयमा प्रयोगशाला परीक्षणको व्यवस्था मिलाउने बताउनुभयो।

निर्वतमान नगरप्रमुख धीरज शर्मा बस्यालले सामुदायिक खानेपानी संस्थाको दिगोपनका लागि उपभोक्ताको सक्रिय सहभागिता र जिम्मेवारीबोध आवश्यक रहेको बताउनुभयो। जिल्ला खानेपानी महासंघ नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाले जिल्लाका खानेपानी आयोजनाको विकास र सञ्चालनमा राज्यले पर्याप्त ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
संस्थाका अध्यक्ष कर्णबहादुर खत्रीले खानेपानीको गुणस्तर सुधार गर्न क्लोरिन डोजिङ पम्प जडान गर्ने योजना रहेको जानकारी दिनुभयो। साधारणसभामा सचिव शिवदेव न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको आम्दानी एक करोड सात लाख ७३ हजार ६४० रुपैयाँ र खर्च ९० लाख ५५ हजार २५६ रुपैयाँ रहेको छ।
साधारणसभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति र लेखापरीक्षणसम्बन्धी प्रतिवेदन पारित गरेको छ। साथै, उपस्थित उपभोक्तामध्ये ४० जनालाई सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको संस्थाका व्यवस्थापक नारायण गिरीले जानकारी दिनुभयो।
संस्थाका अनुसार २०६१ सालमा साविक पञ्चनगर क्षेत्रका करिब एक हजार पाँच सय घरधुरीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गरिएको थियो। २०६५ सालदेखि निजी धारा वितरण सुरु गरेको संस्थाले हाल दुई हजार ६२३ धारा मार्फत उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।



109 पटक हेरिएको 

