खानेपानीको पहुँच नपुगेको १३ प्रतिशतलाई सरकारले यसरी मिलाउँदैछ आपूर्ति व्यवस्था

काठमाडौ : खानेपानीमा पहुँच नपुगेको १३ प्रतिशत नागरिकलाई सरकारले आगामी तीन बर्षभित्र आधारभूत तहको खानेपानी सुविधा पुर्याउने भएको छ । हुन त सन् २०१७ भित्रै खानेपानी र सरसफाइको आधारभूत सुविधा पुर्याउने सरकारले घोषणा गरेको थियो । सरकारी तथ्यांक अनुसार अहिले पनि १३ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर छन् । तर त्यस्ता नागरिकलाई समेत आगामी तीन बर्षभित्र खानेपानीको पहुँचमा पुर्याउने गरी कार्ययोजना बनेको खानेपानी मन्त्रालयले जनाएको छ ।

आगामी तीनबर्ष भित्र सबै नेपालीलाई खानेपानीको आधारभूत सेवा पुर्याउन सरकारसँग के छन् त योजना ? हामीले खानेपानी मन्त्रालयका सचिव कृष्णराज विसीलाई सोध्यौं ।


परियोजना बैंक तयार पार्ने : आगामी आर्थिक बर्ष भित्रै ७५३ वटै स्थानीय तहमा कहाँ कहाँ खानेपानीको पहुँच नपुगेको कति जनसंख्या छन् ? त्यसको अभिलेखीकरण गरी त्यसको सम्भाव्यता अध्ययन गरेर परियोजना बैंक तयार पारिनेछ ।

प्रशोधन केन्द्र सहितको खानेपानी आयोजना : सात वटै प्रदेशमा प्रशोधन केन्द्र व्यवस्थित गर्नका लागि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाई कार्यक्रम कार्यान्वयन गर्ने ।

नदीमा आधारित ठूला आयोजनाहरु सञ्चालन : हाम्रा ८ वटा ठूला नदीहरु छन् । त्यो नदीबाट प्रणाली विकास गरेर पूर्व पश्चिम वाटर हाईवेको सम्भावना देखेका छौं । वाटर हाईवे मार्फत राजमार्ग आसपासका सुख्खाग्रस्त बस्तीहरुमा खानेपानी उपलब्ध गराउने ।

सोलारमा आधारित लिफ्ट खानेपानी आयोजना : पहाडी तथा हिमाली क्षेत्रहरुमा कतिपय पानीका स्रोत सुकेका छन्, कतिपय मुहानहरु भासिएका छन् । नदीको बहाव गहिरिदै गएको छ । तर वस्तीहरु डाँडामा छन्, छरिएर रहेका छन् । त्यस्तो बस्तीमा खानेपानीको व्यवस्था मिलाउन लिफ्ट खानेपानी आयोजना अगाडि बढाएका छौं ।

आर्सेनिक पानीबाट मुक्त : तराई मधेसका जनतालाई आर्सेनिक खानेपानीबाट मुक्त गराउनका लागि पानी प्रशोधन गर्ने प्रणाली सहितको डिप बोरिङमा आधारित खानेपानी आयोजना सम्पन्न गरेर आर्सेनिकमुक्त खानेपानी उपभोगको व्यवस्था मिलाउँदैछौं । हामी त्यस्ता आयोजनाहरुको क्षमता बढाई दिगो विकास लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढ्ने गरी मन्त्रालयले काम गरिरहेको छ ।

सुन्नुहोस्, सचिव विसीसँग गरिएको कुराकानी ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार