प्यूठान । झिसमिसेमै गाग्री बोकेर डेढ घन्टाको दुरीमा पानी लिन जानुपर्ने रम्दीवासीको अहिले घरघरमै पानीका धारा छन् । रम्दी ५ गोलपुरस्थित झिमरुक नदीको सतहबाट झण्डै एक हजार सात सय मिटरको दूरीबाट लिफ्ट मार्फत पानी ल्याएपछि रम्दीबासीले झेल्दै आएको पानीको दुःख हटेको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठान मार्फत तीन करोड ४६ लाख र उपभोक्ता समितिको एक करोड १६ लाख रुपैयाँ श्रमदानमा आयोजना पूरा भएको समितिका कोषाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । आयोजनाबाट पाँच वडाका तीन सय घरपरिवार लाभान्वित भएका छन् । रम्दीका ३, ४, ५, ६ र ९ नम्बर वडामा पर्ने डुडे, चीन, खडकटोल, ठकुरटोल, जुरनेटा, चेरनेटा, बायाडाँडा, चोरपानी र सिरवारी बस्तीका उपभोक्ता लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष यांकबहादुर खड्काले जानकारी दिनुभयो ।
पानीको मुहानभन्दा उच्च ठाउँमा रहेको बस्तीमा लिफ्ट मार्फत खानेपानी पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानका इन्जिनियर शिवहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्याुठानको धरमपानी, खैरा, बिजुली, मर्कावाङ, सारी, बेलबास, नयाँगाउँ, बर्जिवाङ, बाँदीकोट र खलंगामा लिफ्ट आयोजना सञ्चालन गरिएको छ ।