काठमाडौ : मेलम्ची आयोजना अन्तर्गत घरघरमा धारा वितरण गरिदिन्छु भन्दै उपभोक्ताबाट रकम असुुली गर्ने काठमाडौं महानगरपालिका वडा नं ३३ कमलपोखरीका धिरज थापा पक्राउ परेका छन् । मेलम्ची उपआयोजना २ (आयोजना कार्यान्वयन निर्देशनालय)को समन्वयमा महानगरीय प्रहरी बृत कमलपोखरीको टोलीले थापालाई केही रकम र नक्कली रसिद प्याड र नक्कली फारामहरु सहित पक्राउ गरेको हो ।
३० वर्षीय थापाले मेलम्ची आयोजना अन्तर्गत घर घरमा धारा जोड्ने नक्कली कागजात तयार पारी नक्साल क्षेत्रबाट किशोर कुमार अधिकारी, बसन्त कुमार गौतम, बद्री प्रसाद न्यौपाने, द्धारिका प्रसाद न्यौपाने र उषा गिरीबाट जनही दुुई हजारका दरले असुल गरेको पाइएको छ । त्यसैगरी थापाले सचितकुमार मिश्रबाट ढल तथा खानेपानीको धारा जडान गरिदिने नाममा पटक पटक गरी ५४ हजार रुपैयाँ उठाएको पाइएको छ ।
पक्राउ पछि थापाले उठाएको रकम सम्बन्धित उपभोक्तालाई फिर्ता गर्न लगाएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । अब त्यस्तो कार्य नगर्ने सर्तमा, उठाइएको रकम फिर्ता गराई उनलाई थुनामुक्त गर्न समेत सहमति भएको छ ।
निर्देशनालयले मेलम्चीको धारा जडानका लागि भनी कसैले रकम माग गरेमा त्यसको सूचना तत्काल निर्देशनालयलाई उपलब्ध गराइदिन सर्वसाधारणलाई अपिल गरेको छ ।