पर्वत : पानी लिन विहानै घरबाट निस्केकी पर्वत इमिचौरकी माया श्रेष्ठ एक ग्रागी पानी लिएर घर आईपुग्दा घाम घरको धुरीमाथि आइसकेको थियो । केटाकेटीलाई समयमा स्कुल पठाउन भन्दै हस्याङफस्याङ गर्दै घर आईपुग्दा केटाकेटी खाना नखाई स्कुल गइसकेका थिए ।
२०६७ सालमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि पर्वतको रानीपानी ५ इमिचौरका बासिन्दा दैनिक डेढ घण्टा पार गरेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । इमिचौरकी माया श्रेष्ठको जस्तो दैनिकी करिव ३० घर परिवारले झेल्दै आएका छन् ।

इमिचौर सँगै रानीपानी गाविसको नेपाने, पस्यार, पुर्तिडाँडा, बिहादी लगायतका गाउँमा पनि खानेपानीको अभाव छ । जिल्लामा खानेपानी तथा सरसफाई परियोजना सञ्चालन गरिरहेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले रानीपानीमा मात्रै २१ वटा खानेपानी आयोजना सञ्चालन गरेको छ । तर, स्थानीयबासिन्दाले पिउने पानीकै लागि घण्टौं धाउन बाध्य छन् ।
परियोजनाका फिल्ड संयोजक देवराज पुरीका अनुसार पहिलो चरणमा बनेका १६ योजना छन् सञ्चालनमा छन्, चारवटा निर्माणाधीन अवस्थामा र एउटा निर्माण शुरु गर्ने तयारीमा छ भने दुइवटा पुराना योजना मर्मतको तयारी पनि भइरहेको छ ।
बिग्रिएका खानेपानी योजना मर्मत गरेर सञ्चालनमा नल्याउँदा खानेपानीको धेरै समस्या भएको गाउँले बताउँछन् ।


1188 पटक हेरिएको 

