काठमाडौ ८ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणको अध्ययन थाल्न सबै जिल्ला विकास समिति र नगरपालिकालाई पत्राचार गरेको छ ।
मन्त्रालयले हरेक जिल्लामा कम्तीमा एउटा ल्याण्डफिल साइट निर्माणको अध्ययन गर्न परिपत्र गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।
सहरीकरण बढ्दै जाँदा फोहोर व्यवस्थापनको काम पनि चुनौतीपूर्ण बन्दै गएकाले सबै जिल्ला विकास समिति तथा नगरपालिकाले यसबारे ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । बढदो जनसंख्या र बसाइँसराइले भविश्यमा ल्याण्डफिल साइट निर्माण गर्ने जग्गा पाउन पनि मुश्किल पर्ने भएकाले अहिले देखि नै तयारी थाल्न मन्त्रालयले अवधारणापत्र बनाएर हरेक जिल्लामा पत्राचार गरेको सचिव अधिकारीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुने
ल्याण्डफिल साइट निर्माण गर्ने जग्गा छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समितिले गठन गरिनेछ । स्थानीय विकास अधिकारी, मालपोत अधिकृत, नगरपालिका प्रमुख र नागरिक प्रतिनिधि सम्मिलित समितिले जग्गा छनौट र आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्नेछ ।
त्यसलाई सघाउन मन्त्रालयमा पनि केन्द्रीय समन्वय समिति रहनेछ । ल्यान्डफिल साइटको अध्ययन र निर्माणका लागि आगामी वर्षदेखि नै बजेट छुट्याइदिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयलाई आग्रह गरेको छ ।


989 पटक हेरिएको 

