मुगु ९ फागुन । लुम्सकी ३७ वषीया भृकुटी ऐडीको अहिले घरमा बास छैन । पानी बोक्नुपर्ने दुःखका कारण उहाँ लुम्समा रहेको घर छोडेर खोला किनारमै बस्न थाल्नुभएको छ । खोलाबाट पानी बोक्दा बोक्दा हैरान भएपछि खोला किनारमा बस्न थालेको पनि बर्षौ वितिसकेको छ ।
रोवा गाविस ८ लुम्सकी टिउकी ऐडीले पनि खोलाको पानी ओसारेरै १८ बर्ष पार गरिसक्नुभएको छ । वि।सं। २०५७ सालमा गाउँमा पाइपबाट ल्याएको पानी लुम्स खोलाको बाढीले बगाएपछि ७५ परिवार खोलाको पानी पिउन बाध्य भएका हुन् ।
गाउँमा खानेपानी नहुँदा २० मिनेट टाढा लुम्स खोलाबाट पानी बोक्नुपरेको र खोलाको पानी दुषित हुने गरेको गाउँलेले बताए । असारदेखि असोजसम्म खोलामा धमिलो पानी आउने भएकाले कपडाले छानेर पिउनुपर्ने बाध्यता रहेको लुम्सकी भृकुटी ऐडीले बताउनुभयो । ‘खोलाको दुषित पानी पिएरै होला गाउँमा पेट दुख्ने, झाडापखाला फैलिने भइरहन्छ’ भृकुटी भन्नुहुन्छ ‘साउनदेखि असोजसम्म खोला बढेर ठूलो हुने भएकाले बालबालिकालाई खोलामा पानी भर्न पठाउन पनि डरमर्दो छ ।’