वाग्लुङ १० फागुन । तलतिर सलल बग्छ कालीगण्डकी नदी । अलि माथितिर पर्छ कालिका भगवती मन्दिर । मन्दिर भन्दा १ सय ६५ मिटर तलतिर बग्ने नदीको पानी मन्दिरमै ल्याइएको छ ।
नमुना सौर्य लिफ्ट खानेपानी आयोजना अन्तर्गत सौर्य ऊर्जा र विजुलीबाट मोटर सन्चालन गरी नदीको पानी तानेर मन्दिरको अघिल्तिर बनाएको नौ वटा धारामा खसालिएको हो । मन्दिरमा आउने दर्शनार्थी अहिले यिनै धारामा नुहाउँछन् ।

कालीगण्डकीको पानीले नुहाउन चाहने दर्शनार्थीका लागि छुट्टै स्नानघर पनि निर्माण गरिएको छ । मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै नुहाएर जल ल्याउनुपर्ने चलन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको छ ।
चौबिसैघन्टा नौवटै धारामा कालीगण्डकीको पानी आउने हुँदा यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
सरकारको ८० प्रतिशत र कालिका गुठीको २० प्रतिशत गरी दुई करोड ६० लाखको लागतमा आयोजना सम्पन्न हुन लागेको हो । नौ धारा बाहेकका अन्य पूर्वाधार निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङले जनाएको छ । मन्दिर परिसरमा ५० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भइसकेका छन् । यही आयोजनाबाट मन्दिर परिसर आसपासका क्षेत्रका पुरानो खानेपानी आयोजना मर्मत, विस्तार र स्तरोन्नति समेत गरिने भएको छ ।


1130 पटक हेरिएको 

