सेफ्टी ट्यांक सफा गर्ने प्रति गरिने व्यवहार सुध्रिदै

महोत्तरी ११ फागुन । बर्दिबास ४ गौरीडाँडाकी शैल डोम चर्पीको सेफ्टी ट्यांक सफा गर्नुहुन्छ । उहाँको यो पुख्र्यौली पेशा हो । उहाँ जस्ता गाउँका धेरैले सेफ्टी ट्यांक सफा गरेरै गुजारा चलाइरहेका छन् । चर्पीको सेफ्टी ट्यांक सफा गरेर घरपरिवार धान्नुपर्ने वाध्यता भएपनि उनीहरुलाई गर्ने व्यवहारबाट डोम समुदाय खिन्न थिए ।

तर अहिले सेफ्टी ट्यांक सफा गर्ने व्यक्तिलाई गरिने व्यवहार विस्तारै फेरिदै गएको उनीहरु बताउँछन् । देशमा सरसफाइ अभियान सञ्चालन भएपछि धेरै काम पाउन थालेको र विस्तारै मानिसले गर्ने व्यवहार पनि बदलिएको शैल डोमले बताउनुभयो । ‘हामीलाई कतिले त बर्दिबास क्षेत्रको सरसफाइ अभियन्ता भनेर पनि भन्छन् ।

हामीले यो काम नगरे कयौंको सेफ्टी ट्यांक त्यत्तिकै रहन्थ्यो, हामीले यो काम गरिरहेका थियौ सफा ग¥यौं ।’ शैल डोम भन्नुहुन्छ ‘पहिले पहिले लुकीछिपी गर्नुपर्ने अवस्था थियो, हामीले दुव्र्यवहार भोग्नुपथ्र्यो, हामीले गर्ने कामका कारण बालबालिका स्कुलमा हेपिन्थे, अनि स्कुल जान पनि मान्दैनथे तर अहिले त व्यवहार फेरिदै गएको छ, स्कुलमा पनि पहिलो जस्तो हेला गर्दैनन् बालबालिका पनि स्कुल जान मान्छन् ।’

सेफ्टी ट्यांक सफा गरेर छोराछोरी पढाउदै
बर्दिबास ४ रातु खोलाको किनारमा १० धुर ऐलाली जग्गामा सीमित छ शैल डोमको छापौ् । पुसको चिसो सिरेटोमा होस् वा जेठको चर्को घाम, या त भदौको झरीमा नै किन नहोस्, शैल सबेरै घरबाट निस्कनुहुन्छ । चर्पीको सेफ्टी ट्यांक सफा गरेर उहाँले घरपरिवार मात्र धान्नु छैन, तीन जना बालबालिकालाई पढाउनु पनि परेको छ ।

शैल डोमकी १३ बर्षीया तारा कक्षा ३ मा अध्ययनरत छन् । १२ वर्षका रोशन पनि कक्षा ३ मै पढ्छन् । ९ वर्षे सुरज कक्षा २ मा अध्ययनरत छन् । आफूले पढ्न नपाउँदा दुःख पाएकाले बालबालिकालाई पढाएर शिक्षित बनाउने शैलको धोको छ । उहाँ भन्नुहुन्छ ‘मैले पढ्न नपाउँदा अरुको चर्पीको सेफ्टी ट्यांक सफा गर्दैछु, यी केटाकेटीले त्यसो गर्न नपरोस्, शिक्षित बनाएपछि त केही न केही गरेर खान्छन् नि ?’

शैलको काँधमा बालबालिका पढाउने जिम्मेवारी मात्र छैन, दमका रोगी पति इन्दलको स्याहारसुसार गर्नुपर्ने दायित्व पनि छ । ‘काम गर्न सक्नुहुन्न उहाँलाई पनि मैले नै पाल्नुपर्छ बालबालिकालाई पनि मैले नै पढाउनुपर्छ’ ३७ बर्षकी शैलले भन्नुभयो ।
मानिसको दुव्र्यवहारका कारण सेफ्टी ट्यांक सफा गर्ने काम त्याग्ने सोचमा रहेकी शैल अहिले यसैबाट घरचलाउने र केटाकेटीलाई पढाउन सकिन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार